काठमाडौं। जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन्। प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएको बताइएको छ। अब केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गर्ने प्रहरीले जानकारी दिएको छ।
यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो। तर, डा. केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा. केसीसम्म पुग्नै दिएका थिएनन्।सरकारले डा. केसीको जीवन रक्षाकालागि भन्दै काठमाडौं ल्याउन बिहीबार विहान हेलिकप्टर जुम्ला पठाएको थियो।
तर डा. केसीले कर्णाली विज्ञान प्रतिष्ठानका डाक्टरहरुले आफूलाई राम्रोसँग उपचार दिइरहेको र आफू सन्तुष्ट रहेको भन्दै सुरुमा काठमाडौं आउन अस्वीकार गरेका थिए।
बिहीबार विहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरलेले डा. केसकिो जीवन रक्षा र स्वास्थ्य उपचारकालागि काठमाडौं ल्याउनु अत्यावश्यक रहेको भन्दै डा. केसीलाई लिन हेलिकप्टर जुम्ला पठाएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए।