जनकपुर । तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजिव राउतकी पत्नी निलम देवी राउतलाई प्रदेश सरकारले रोजगारी दिएको छ ।
प्रदेश सरकारको पहिलो मन्त्री परिषदको बैठकले सम्पूर्ण शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुरुप प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा उनलाई नियुक्ति दिइएको हो । मंगलवार कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले निलम देवी राउतलाई नियुक्तिपत्र दिईएको छ ।
नियुक्ति पत्र हस्तान्तरण समारोहमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने निर्णय अनुसार नै कार्य अगाडि बढाईएको बताए । उनले भने ‘हामी आह्वान गरि सकेका छौ, जति शहीद परिवार सम्पर्कमा आउनु हुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौ ।’
यस अघि सोही कार्यालयमा अर्का शहीद राम विवेक यादवकी पत्नी अनिला यादवलाई समेत रोजगारी दिइएको छ । मुख्य न्यायधिवक्ता कार्यालयले हालसम्म २ जना शहीद परिवारलाई रोजगारी उपलब्ध गराएको छ । मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार उनीहरुलाई रोजगारी दिइएको छ । निर्देशिका अनुरुप प्रदेश सरकारले घाइतेहरुलाई समेत क्रमशः सहायता उपलब्ध गराउँदै आएको छ ।