सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ६ बसलपुर जाने क्रममा अर्नाहामा आइतवार साँझ एक युवतीलाई सामुहिक बलात्कारमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भावेश रिमालले दिएको जानकारी अनुसार खडक नगरपालिका वडा नम्वर–५ का १६ वर्षिय राम बहादुर (परिवर्तन नाम) र सोही ठाउँका २० वर्षिया बिमला (परिवर्तन नाम) साइकलमा मेला हेरी घर फर्कने क्रममा युवतीलाई सामुहिक बलात्कार गरेको हो ।
पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका ५ का २० वर्षिय बिक्रम सरदार, कृष्णनारायण साह, २७ वर्षिय मनोज कुमार राम, कञ्चनरुप नगरपालिका– ११ का २४ वर्षिय हिरालाल साह र शम्भुनाथ नगरपालिका– ७ का १८ वर्षिय राजकुमार भगत रहेका छन् ।
मेलाबाट फर्किने क्रममा ७–८ जना व्यक्तिहरुले युवतीसँग रहेका निज राम बहादुरलाई नियन्त्रणमा लिई कुटपीट गरी निजको साथमा रहेको मोबाइल र साइकल समेत खोसी बिमलालाई समेत बल जबरजस्ती धान खेततर्फ लगेको भनि राती २ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कल्याणपुरमा खबर गर्नासाथ प्रहरी टोली परिचालित भएको थियो ।
घट्नास्थलमा खोजतलास गर्दा रामबहादुरको साइकल धान खेतमा रहेको र पीडित बिमलालाई सोमवार बिहान ७ बजे फोन सम्पर्क हुँदा ‘कठौनाबाट खर्चुहियातर्फ जादै छु’ भनि टेलिफोनबाट सम्पर्क भएको थियो । पीडितलाई कार्यालयमा ल्याई सोधपुछ गर्दा तत्काल नामथर वतन नखुलेको ६ जना केटाहरुले जबरजस्ती करणी गरेको भनि प्राप्त सूचनाका आधारमा प्रहरी उपरीक्षक राजेन्द्र बिष्टको कमाण्डमा खटिएको टोलीले पाँच जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता रिमालले जानकारी दिएका छन् ।
उनका अनुसार पक्राउ परेका पाँच जनालाई सप्तरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप भएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको तथा फरार अभियुक्तको खोजी कार्य समेत तिब्र पारिएको जनाईएको छ ।