सप्तरी राजविराज । संघीय समाजवादी फोरम नेपालका प्रतिनीधि सभा सदस्य हरिनारायण रौनियार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार मुद्दाप्रति तराई मधेश प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
समितिका सचिव शम्भु झाले मङ्गलवार प्रेस विज्ञप्ति जारी गर्दै आयोगको उक्त कार्यप्रति आपत्ति जनाएका हुन् ।
पप्पु कन्सट्रक्सनको सञ्चालक समेत नरहँदा पनि पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै भ्रष्टाचार सम्वन्धि अर्कै मुद्दा चलाएको विज्ञप्तिमा उल्लेख छ । ‘रौनियारलाई अख्तियारले बिगोको १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो माग दावी गरेको छ’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई समेत उत्तिक्कै बिगो माग दावी गरिएको छ ।’ २०६८ साल असारमा पप्पु कन्सट्रक्सनले सडक डिभिजन कार्यालय लहानसँग १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँमा ठेक्का स्वीकार गरेकोमा दुवै जनासँग ठेक्का स्वीकारेको रकम बराबरको बिगो दुवै जनासँग माग गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
आयोग पूर्वाग्रही भएर मधेशका नेता विरुद्ध षडयन्त्रपूर्ण ढङ्गबाट मुद्दा चलाएको जनाउँदै सचिव झाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ ‘कैयन ठेकेदार कम्पनीले काम नगरेर रकम दुरुपयोग गरेको प्रमाणहरु हुँदाहुँदै अख्तियारले उनीहरु विरुद्ध कार्वाही नगरेर मधेशका नेताहरुलाई लक्षित गरी चरित्र हत्या गर्ने काम गरेको छ, त्यसर्थ निलम्वन गरिएका प्रतिनिधि सभा सदस्य रौनियारमाथिको सम्पूर्ण कार्वाही फुकुवा गर्न जोडदार माग गर्दछौं ।’