• img
  • img
img img img
Categories
समाचार सहकारी

सहकारी संस्थाले उत्पादनमा लगानी आर्कषण गर्न नसकेकामा सरोकारवालाले चिन्ता व्यक्त

img

काठमाडौँ । सहकारी संस्थाले उत्पादनमा लगानी आर्कषण गर्न नसकेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। ती संस्थाका बचतकर्ताले चर्को ब्याजमा ऋण लिन बाध्य भएकाले अहिलेका बचत तथा ऋण सहकारी संस्था उहिलेका ‘मुखिया’ जस्तो भएको यहाँ आयोजित एक कार्यक्रममा सहभागीहरूले आरोप लगाएका हुन्।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सहकारी संस्था सामाजिक नभई नाफामुखी हुँदै गएको बताए। उनले गरीबीको अन्त्य सहकारीबाट सम्भव भए पनि अहिलेका सहकारी संस्था नाफामुखी भएको उल्लेख गरे। राष्ट्रिय सहकारी विकास बैंकको १५ औँ साधारणसभामा धौलागिरि बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता हरेराम बस्नेतले सहकारीले सदस्यको हित गर्नुपर्नेमा चर्को ब्याजमा लगानी गरी बचतकर्ताको अहित गरेको आरोप लगाए।

कूल गार्हस्थ्य उत्पादनमा सहकारी संस्थाको योगदान झण्डै चार प्रतिशत रहेको अनुमान छ। लगभग रु चार अर्ब पूँजी सङ्कलन गरेका १० हजार २१८ सहकारी संस्थाले उत्पादनका क्षेत्रमा उल्लेखनीय लगानी नगरेको सहकारी अभियन्ता गणेश तिमल्सिनाले बताए। सहकारी संस्थाको साझा बैंक-राष्ट्रिय सहकारी बैंकसँग रु २२ अर्ब पूँजी भएपनि उक्त बैंकले कृषि, पर्यटन, उद्योग र जलस्रोतजस्ता क्षेत्रमा लगानी गरेको देखिँदैन।

बैंकले शेयर सदस्यलाई पर्याप्त मुनाफा बढ्न सफल भएको देखिन्छ। आर्थिक वर्ष २०७४/०७५ मा रु ४० करोड ७९ लाख ७९ हजार ८८९ अर्थात् लगानीको १५ प्रतिशत मुनाफा वितरण गरे पनि लगानीको सम्भावना रहेको कृषि क्षेत्रमा भने सन्तोषजनक लगानी देखिँदैन। यस वर्ष बैंकले झण्डै रु १३ अर्ब लगानी गरे पनि कृषि क्षेत्रमा रु तीन अर्ब ३७ करोड लगानी गरेको छ। उक्त लगानी कूल पूँजी लगानीको लगभग २५ प्रतिशत हो। कृषि क्षेत्रको कूल गार्हस्थ्य उत्पादन ३३ प्रतिशत छ।

कृषि क्षेत्र परनिर्भरतातर्फ उन्मुख भए पनि सहकारी अभियन्ता तथा लगानीकर्ताको कृषिमा आर्कषण देखिँदैन। हाल प्रतिमहीना रु दुई अर्बको खाद्यान्न मात्र आयात भएको विभिन्न तथ्याङ्कले औँल्याएको छ। सफल बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ता श्रीराम कार्कीले हुनेखाने वर्गले सहकारीलाई नियन्त्रणमा लिएको बताए।

पछिल्लोपटक ब्याज तिर्न सक्ने आम्दानी भएका हुनेखाने वर्गले सस्तो ब्याजमा बैंकसँग ऋण लिने र चर्को ब्याजमा सहकारीमा बचत गर्ने परिपाटी बढेकाले बचतकर्ता सहकारीबाट सस्तो ब्याजमा ऋण लिन हिचकिचाएको पाइन्छ। बैंकले ठूला लगानीमा ११ देखि १२ प्रतिशतमा लगानी गर्ने र सहकारीले १८ देखि १९ प्रतिशत ब्याज दिने गरेको पाइन्छ। काम नगरी छ प्रतिशत मुनाफा लिने समूह सहकारीमा आकर्षित हुनाले यसबाट गरीब व्यक्तिले लाभ लिन सकेको पाइँदैन।

बैंकले यस आवमा व्यवसायतर्फ रु आठ अर्ब ७२ करोड ४१ लाख ५९ हजार ९७७, घर-जग्गामा रु २१ करोड ३० लाख ६४ हजार ३७५ हायरपर्चेजमा रु दुई करोड ४१ लाख ७९ हजार ४२५, मुद्दती रसिद धितो कर्जामा रु सात करोड २८ लाख २७ हजार ३१५, कृषि परियोजनामा रु एक करोड ७२ लाख १७ हजार ९८० र अन्यमा रु दुई करोड १५ लाख ३१ हजार ५२७ लगानी गरेको छ।

सभामा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडाल र नेता बालकृष्ण खाँणले सहकारीको लगानी गरीबीको अन्त्यतर्फ आकर्षित हुनुपर्ने बताए। त्यसैगरी सभामा राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले ०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए। रासस

img

Share: