धरान । धरान स्थित वीपी कोईरालास्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भइरहेका भ्रष्टाचार र अनियमितता टुलुटुलु हेरेर नबस्ने सरोकारवालाहरुले बताएका छन् । प्रतिष्ठानमा चरम भ्रष्टाचार बढेको र त्यसमा उपकुलपति नै मुछिएको भन्दैसत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका धरानका नेताहरुले प्रतिष्ठानमा ब्याप्त अनियमितता, भ्रष्टाचार तथा राजनीतिकरण तत्काल बन्द हुनुपर्ने बताएका हुन् ।
आज मंगलबार प्रतिष्ठानका उपकूलपति लगायत पदाधिकारीसँग भेट गरी उनीहरुले पछिल्लो समय पदाधिकारीहरुको अकर्मन्यताका कारण प्रतिष्ठान धरासायी हुँदै गएको र जनताले समेत सर्वसुलभ स्वास्थ्य सेवा पाउन नसकिरहेको भन्दै संस्थाको नेतृत्व लिन नसक्नेले पदबाट हटेर भएपनि प्रतिष्ठानलाई जोगाउनुपर्ने बताए ।
डेलिगेसनमा गएका नेकपाका मुरारी सुवेदीले पछिल्ला दिनहरुमा प्रतिष्ठानको स्वास्थ्य सेवा खस्कँदै गएको ब्यापक जनगुनासो आएको तथा पदाधिकारीको वेमेलले प्रतिष्ठान ध्वस्त हुँदै गएकोले उपकूलपति डा. राजकुमार रौनियारले त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने बताए । ‘विगतमा प्रतिष्ठानले स्वास्थ्य सेवामा जसरी प्रगति गरेको थियो अहिले छैन । प्रतिष्ठान दिन प्रतिदिन ध्वस्त हुँदै गएको छ यसको नैतिक जिम्मेवारी पदाधिकारीले लिनुपर्छ । त्यसमा उपकुलपति जिम्मेवार हुनुपर्छ ।’ सुवेदीले भने ।
सुबेदीले २२ जना कर्मचारी कसरी कुन प्रक्रियाबाट प्रतिष्ठानमा नियुक्ति गरीएको र जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन किन नसकेको भनेर प्रश्न गरे । उनले प्रतिष्ठानमा रुई (कटन) र सुई (इन्जेक्जन)कै समस्याले पनि विरामी अन्त रेफर गर्नु भनेको लाजमर्दो कुरा भएको बताए । उनले २ बर्षदेखि प्रतिष्ठानमा निर्माणाधिन क्यान्सर तथा मातृशिषु केन्द्रको भवन अलपत्र पर्नुको कारण पनि पदाधिकारीको गलत नियत रहेको जिकिर गरे ।
यसैगरी अर्का नेता चोत्लुङले समेत पदाधिकारी विच बढ्दो बेमेलका कारण प्रतिष्ठान धरासायी भएको भन्दै पदाधिकारीलाई मिलेर जान सुझाए । उनले उपकूलपतिको धेरै कमिकमजोरी बाहिर आइरहेको भन्दै सच्चिएर प्रतिष्ठान जोगाउन लाग्नु पर्ने नत्र प्रतिष्ठानको हितका लागि विकल्प सोच्ने तर्फ जानुपर्ने बताए । ‘यो धरानको मात्र नभइ १ नं. प्रदेशको गहना भएकोले यसलाई बचाउन सबैले सहयोग गर्नुपर्छ । प्रतिष्ठानका नाममा ब्यक्तिगत स्वार्थ पुरा गर्ने अधिकार कसैलाई छैन ।’ उनले भने ।
छलफलमा अर्का नेता सिपी दत्तले प्रतिष्ठानका उपकुलपति रौनियारले आफनो कर्तब्य पुरा नगरेको नदेखिएको बताए ।डेलिगेसनमा बोल्दै नारायण सुवेदी, वेणु काफ्ले, हिमाल लिम्बूले समेत पदाधिकारीहरु भित्रको किचलोका कारण दक्षिण एशियाकै प्रतिष्ठित संस्था डुब्ने तरखरमा गएको प्रति चिन्ता ब्यक्त गरे ।
वक्ताहरुले उपकुलपतिले रजिष्ट्रार र शिक्षाध्यक्षको अधिकार कटौती गरी उपकूलपति र डाइरेक्टरले प्रतिष्ठानमा मनपरी गरेको भन्दै पदीय अधिकार अनुसार काम गर्न सुझाए । एउटा पदाधिकारीको अधिकार अर्कोले प्रयोग गर्दा अख्तियारी दुरुपयोग हुने उनीहरुको भनाइ थियो ।
डेलिगेसनमा आएका नेताहरुको कुरा सुन्दै प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालले उपकूलपति प्रति इङिगत गर्दै लिडरसिपको असक्षमताका कारण प्रतिष्ठान डुबेको जिकिर गरे । उनले उपकूलपतिमा लिडरसिप नभएको भन्दै त्यसलाई नसुधारे सम्म समस्या यथावत रहने दावि गरे । ‘प्रतिष्ठान नविग्रियोस भन्ने मेरो चाहना थियो । उहाँलाई (उपकूलपति) मैले जहिले पनि भन्थें, तपाई लिडर हो । लिडरले आज फलानोले यो गर्यो त्यो गर्यो भनेर आरोप लगाउन मिल्दैन,तपाई सुध्रेर आउनुस भनेर बारम्बार भनेको हुँ । खै केहि सुधार भएन ।’
खनालले आफुहरु (रजिष्ट्रार र रेक्टर) लाई प्रतिष्ठानमा भएका अनियमितताका सन्दर्भमा छानविन गर्न गठित कमिटिमा राखेको रिस उपकुलपतिलाई रहेको इङिगत गर्दै सरकारले नै जिम्मेवारी दिएपछि आफु पछि हट्न नसकेको बताए ।‘सम्मानीय प्रधानमन्त्री, स्वास्थ्य मन्त्रीबाटै छानविन कमिटिमा राखेको भनेर पत्र आएपछि मैले गर्ने के ?पछि हट्नु त भएन ।’ उनले भने–‘छानविन समितिले प्रतिष्ठानमा भएका कमीकमजोरी सहित सुधारका लागि केके गर्न सकिन्छ भनेर प्रतिवेदन तयार गरेर बुझाइसकेको छ । छानविन समिति गलत हो, होइन भन्दा पनि छानविन समितिले छानविन गर्यो, प्रतिवेदन दियो ।जसमा प्रतिष्ठानको समग्र विकासका लागि दिर्घकालिन योजना के गर्नुपर्छ भन्ने सुझाव सहित गलत कुरालाई उल्लेख गरेर रिपोर्ट दिएको छ । हामीले गल्ती नै गरेका छैनौं भनेर किन डराउने ?’ उनले उपकूलपतिलाई हेर्दै प्रश्न गरे । डा. खनालले प्रतिवेदनमा कसकसलाई दोषि देखाइएको खुलाउन चाहेनन् । ‘यो कुरा सरकारले प्रतिवेदन सार्वजनिक गरेपछि खुल्न आउँछ ।’
डेलिगेसनमा आएका नेताहरुलाई सुरुमा उपकुलपतिले टाइम नै नलिई भेट्न आएको भन्दै समय नभएको बताए । पछि नेताहरुले आफुहरुको समय भएर आएको भन्दै छलफल गर्न भनेपछि उपकूलपति सहित अस्पताल निर्देशक तथा शिक्षाध्यक्ष छलफलमा बसेका थिए । रजिष्ट्रार तुलबहादुर श्रेष्ठ भने उपस्थित भएनन् । स्रोतका अनुसार उपकुलपतिले छलफलमा रजिष्ट्रारलाई बोलाउँदा आफ्नो पोल खुल्ने डरले उनलाई नबोलाएका हुन् ।
छलफलमा बोल्दै प्रतिष्ठानका उपकूलपतिले प्रतिष्ठान विग्रनुमा आफ्नो मात्रै हात नरहेको भन्दै पन्छिन खोजे । उनले विगतको पालादेखि नै सिष्टम विग्रिएको भन्दै आफुले सुधार्ने प्रयास गरिरहेको जिकिर गरे । उपकूलपतिले त्यसो भनिरहँदा डेलिगेसनमा आएकाहरुले प्रतिष्ठानमा भएका भ्रष्टाचार र अनियमितताका सवालमा उपकूलपतिले प्रष्ट धारणा दिनुपर्ने र नैतिक जिम्मेवारी लिनुपर्ने बताए ।
सरकारले प्रतिष्ठानमा भए गरेका अनियमितताका सन्दर्भमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा प्रतिष्ठानमा रजिष्ट्रार तुल बहादुर श्रेष्ठ र शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालको सदस्य रहेको छानविन कमिटि गठन गरेको थियो । त्यस अघि नै प्रधानमन्त्री कार्यालयका डा. गौरीबहादुर अधिकारीको संयोजकत्वमा अर्को छानविन कमिटि गठन गरेर त्यसले समेत प्रतिवेदन दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रतिष्ठानबाट महत्वपूर्ण काजगात लिएर अनुसन्धान गरिरहेको अवस्था छ ।
स्वास्थ्यमन्त्रीको कमिटिले सरकारलाई प्रतिवेदन बुझाउँदै गर्दा उपकूलपति भने ‘छानविन कमिटीले मेरो केहि विगार्न सक्दैन, यो छानविन कमिटी नै अबैधानिक छ’ भन्दै अभिब्यक्ति दिँदै विभिन्न शक्ति केन्द्रमा हिँडिरहेका थिए । सँगैसँगै उनले रजिष्ट्रार र शिक्षाध्यक्षको अधिकार कटौती गर्दै डाइरेक्टर डा. गौरीशंकर शाहसँग मिलेर एकलौटी निर्णय गर्दै आइरहेका थिए । उनलाई तत्कालिन स्वास्थ्यमन्त्री दीपक बोहराले समेत छानविन समिति गठन गरी भ्रष्ठाचार गरेको भन्दै कारवाही गर्न तत्काल निलम्बन गर्न तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस समेत गरेको थियो ।
त्यसपछि उपकुलपति भने, अनेक विवादमा मुछिँदै जाँदा आफुलाई बचाउन विभिन्न राजनीतिक शक्ति केन्द्र, मेडिकल माफिया, ठेकेदार तथा ब्यापारीसँग हारगुहार गर्दै आइरहेका छन् । पछिल्लो डेढ वर्ष यता प्रतिष्ठानको सिनेट बस्न सकेको छैन भने, ६ महिना यता कार्यकारिणी बैठक समेत बस्न सकेको छैन । यसले प्रतिष्ठानको नियमित काम कारवाहीमा असर परेको छ नै, भ्रष्टाचार, अनियमितता तथा कूशासनबाट प्रतिष्ठान थलिँदै गएको छ ।