भारदह । सप्तरीको कोशी व्यारेजलगायतका नदीहरुमा नुहाएर सोमबार पुसी पुर्णिमा मनाईएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत भारदह स्थित कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो लागेको थियो । व्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ्ग, भारतको पुर्णिया, लौकही, मधुवनी, फारबिसगञ्ज, अररिया, बनमनखीलगायतका स्थानहरुबाट कोशी स्नान गर्न आएको स्थानीयवासिन्दाले जनाएका छन् ।
जिल्लाकै ठूलो मेला लाग्ने उक्त स्थानमा गत–विगतका वर्षहरु झैं स्थानीय स्वयंसेवकका साथै सुरक्षाकर्मी परिचालन गरिएको छ ।कोशी मेलामा बिहानैदेखि बैलगाडा, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरी घुइँचो लागेको थियो ।
कृषि मेलाको रुपमा समेत चिनिने यो एक दिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्रीका लागि महत्वपूर्ण मानिन्छ ।
कोसी व्यारेज बाहेक सप्तरीको हनुमाननगर, ईटहरी विष्णुपुर, मेगजीन चुरीया, पथरी, झनकट्टा, मलकोर लगायतका स्थानहरुमा समेत भव्य मेला लाग्ने गर्दछ । यस अतिरिक्त कोशीको पानी जाने नहरहरुमा समेत समेत स्नान गर्नुका साथै चौकहरुमा मेला लाग्ने गर्दछ । यसका साथै ठाउँ–ठाउँमा माता कौशिकीको मूती समेत बनाएर पूजाआजा गरिएको छ ।
पुसी पूर्णिमाका दिन जलाशायहरुमा नुहाए पापबाट मुक्ति पाउने र गंगास्नान गरे सरह हुने जनविश्वास रहँदै आएको छ । स्नान गरेर दही, च्यूरा, पुरी, तरकारी, जेरी सहितका मिठाईहरु खाने प्रचलन रहँदैआएको छ ।
कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलनका कारणले पनि यस पूर्णिको दिन कोसी स्नान गर्न आउनेहरुको संख्या अत्यधिक रहने गर्दछ ।