भारदह । लगातार एक हप्ता देखि अविरल वर्षा र सप्तकोशी नदीहरुका बढीका कारण सप्तरीको जनजीवन अस्त व्यस्त भएका छन । बाढीका कारण सप्तरीमा दुई हजार भन्दा बढी घर डुबानमा परेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १,३, ४, ७ र १२ का ३ सय, खाँडो नदीको बाँध भत्किएर राजविराज नगरपालिका–१५ र १६ का ३ सय, तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर १ का करिब १ सय, बोदे वरसाइन नगरपालिका वडा नम्वर–३ मा एक सय पचास भन्दा बढी घर डुबान भएको छ । कञ्चनरुप नगरपालिका –१, २ र ३, तिरहुत ४ र ५ का ३ सय, त्रियुगा नदीको बाँध भत्किँदा सप्तकोशी नगरपालिका वडा नम्वर –१ र ३ मा २० घरमा समेत बाढीको पानी पसेको छ ।
यसैगरी सप्तकोशी नदीको बाढीले हनुमाननगर कंकालिनी वडा नम्वर –१३ को एक सय पचास परिवारको सिङ्गो गोबरगाढा बस्ती जलमग्न भएको छ । सोही नगरपालिकाको वडा नम्वर १२ मा समेत कोशीको पानीले ६० घर जलमग्न भएको छ । हनुमाननगरपालिका कार्यालयमा समेत बाढीको पानी पसेको छ ।
वस्तीमा कोशीको पानी बढ्न थालेपछि स्थानीय वासिन्दाहरु घर छाडेर सरसामान, गाईवस्तुसहित सुरक्षित स्थानतर्फ लागेका छन् । यस अतिरिक्त सप्तरी जिल्लाको विभिन्न स्थानहरुमा छिटफुट रुपमा घरहरु डुबान तथा कटानमा परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् । बाढीका कारण जिल्लाको विभिन्न स्थानहरुमा लगाईएको धान खेती नष्ट भएको छ भने सयौं बिघा खेत कटानमा परेको छ ।
यता प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान प्रहरी प्रमुख समेतको टोलीले जिल्ला विभिन्न स्थान पुगेर बाढी पीडितको अवस्थाबारे जानकारी लिएका छन् । यसका साथै राहत तथा उद्धारको टोलीलाई तयारीमा अवस्थामा राखी परिचालन गरिएको छ ।