भारत सरकारले कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको समयावधि दुई साताका लागि थप गरेको छ ।
यसअघि ३ मेसम्म तोकिएको लकडाउनको समयावधि थप गरेर १७ मेसम्मका लागि थप गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
कोरोनाभाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या भारतमा बढ्न थालेपछि गएको २५ मार्चदेखि बन्दाबन्दी लागू गरिएको हो । यद्यपि, भारतमा कोरोनाभाइरस संक्रमितको र मृत्यु हुनेको संख्या दिनदिनै बढिरहेको छ ।
शुक्रबारसम्म कोरोनाभाइरसबाट भारतमा ३५ हजार बढी मानिस संक्रमित र १ हजार १ सय ५० जनाको ज्यान गइसकेको छ ।
भारत सरकारले थपिएको लकडाउनको अवधिमा विभिन्न ठाउँलाई संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याउने सञ्चार माध्यमहरूले जनाएका छन् । त्यसपछि भारतमा लकडाउनको अवस्था केही खुलुको हुने अनुमान गरिएको छ ।