भारदह । कञ्चनरुप नगरपालिकाका मेयर वसन्त कुमार मिश्रले लकडाउन खुले पनि सुरक्षाकालागि मास्क अनिवार्य रहेकोले सम्पूर्ण नगरवासीलाई थ्री लेयरको ६० हजार मास्क तथा साबुन वितरण गर्न लागेको बताएका छन् ।
हरवाचरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत तपेश्वरी समाज कल्याण संघ राजविराजले सप्तरीको रुपनगरमा सोमवार आयोजना गरेको हरवाचरवा समूहको दिगोपनकालागि नगरपालिकासँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कोरोना भाइरस सङ्क्रमणको अवस्था अझै कायमै रहेको चर्चा गर्दै उनले भने ‘लकडाउन खुलेपछि पनि मास्क अनिवार्य रुपमा लगाउनुपर्नेमा चरम लापर्वाही भईरहेको छ नै, कपडा दुई लेयरको मास्क प्रयोग भईरहेकोले भाइरसबाट जोगिन थ्री लेयरको ६० हजार मास्क र हात धुने साबुन आम नगरवासीलाई वितरण गर्ने तयारीमा छौं ।’
कञ्चनरुप नगरपालिका विपन्न एवम् दलितलाई प्राथमिकतामा राखेर अगाडि बढेको जानकारी दिँदै उनीहरुको जिवनस्तर उकास्नकालागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए । कार्यक्रममा हरवाचरवा तथा अगुवाहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दै मेयर मिश्रले हरवाचरवाहरुको समुचित व्यवस्थापनको विषयमा आफुले बोल्नुभन्दा काम देखाउने प्रतिवद्धता व्यक्त गरे ।