• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

भारत भ्रमणमा के-के भयो सम्झौता

img

दिल्ली। चारदिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

बिहीबार दिउँसो हैदरवाद हाउसमा भएको द्विपक्षीय भेटवार्ता र छलफलपछि केही विषयमा सम्झौतासमेत भएको छ । उनीहरुका अनुसार सातवटा मुख्य सम्झौता भएका छन् ।

दुईपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहाल  र भारतीय प्रधानमन्त्री मोदीले केहि परियोजनाहरुको संयुक्त रुपमा बटन थिचेर उद्घाटन गरेका थिए। दुईदेशबीच नेपाल- भारत पारवहन सम्झौता नवीकरण गर्ने सम्झौता भएको छ।

त्यस्तै सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापा सम्म पुर्‍याउने सहमति भएको छ भने चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने सहमति भएको छ।

उनीहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनका क्रममा भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास गरिएको छ भने नेपालगन्ज–रूपैडिया इन्टिग्रेटेड चेकपोस्ट तथा बथनाहा–विराटनगर कार्गो रेलको उद्घाटन गरिएको छ। पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले दुईदेशबीच भएको सम्झौताले सम्बन्ध थप प्रगाढ हुने बताए।

उनले नेपाल भारतबीच ऊर्जामा सम्बन्धमा दीर्घकालीन सम्झौता भएको भन्दै नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरे। भारतीय प्रधानमन्त्री मोदीले दुईदेशीय सम्बन्ध हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहने भन्दै सीमा लगाएत अन्य समस्याको समाधान खोज्ने जिकिर गरे।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्याहरुका बारे द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेको बताए। उनले भारतीयसंग निकै महत्वपूर्ण सहमति भएको भन्दै यसले मुलुकको बिकासका थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले दुईदेशबीच नयाँ हवाई रुटका बारेमा सकारात्मक छलफल भएको जानकारी दिए। उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिए ।

त्यसअघि बिहीबार नै प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै पुष्पहार अर्पण गरेका थिए। प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमण सम्पन्न गरेर जेष्ठ २० गते स्वदेश फर्कने कार्यक्रम छ।

img

Share: