फोटो: क्याम्पस फिचर
भूपदेव माली
मङ्सीर १५गते/ सप्तरी।
सप्तरीको रूपनगर क्याम्पसले आफ्नो क्षेत्रका सरकारी विद्यालयमा अध्ययनरत १२ कक्षाका छात्र छात्राहरुलाई लक्षित गर्दै विशेष वित्तीय साक्षरता तालिम सञ्चालनमा ल्याइएको छ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले नयाँ युवा युवतीहरूको जीवन उपयोगी शीप सिकाउने उद्देश्यले यस्तो तालिमको सञ्चालन गरेको हो।
वित्तीय साक्षरता तालिमले विद्यार्थीहरूको व्यावहारिक ज्ञानमा वृद्धि, सुलभ रोजगारीको अवसर र तिनीहरूलाई आर्थिक रूपमा सचेत र सक्षम बनाउने लक्ष्यका साथ तालिमको आयोजना क्याम्पसले जानकारी गराएका छन् ।
तालिम मूल रूपमा विद्यार्थीहरूको वित्तीय साक्षरतामा सुधार ल्याउन केन्द्रित रहेर सहभागीहरूलाई निम्न विषयहरूमा प्रकाश पारियो:
• वित्तीय साक्षरताको महत्व: दैनिक जीवनमा वित्तीय व्यवस्थापनको भूमिका।
• वचत र लगानीको महत्त्व: भविष्यको सुरक्षाका लागि वचत र सही ढंगले लगानी गर्ने तरिकाहरू।
• ऋण र खर्च व्यवस्थापन: उचित र जिम्मेवार तरिकाले ऋण लिने र खर्चको योजना बनाउने उपायहरू।
• बैंक प्रणाली र प्रविधिको उपयोग: बैंक तथा वित्तीय संस्थाहरूको भूमिका र डिजिटल/अनलाइन बैंकिङको प्रयोग।
• अनलाइन सुरक्षा र वित्तीय ठगीबाट बच्ने उपायहरू।
यो तालिममा रूपनगर नन्दराज संग्रौला क्याम्पस वरपर रहेका छ वटा सरकारी विद्यालय र त्यस विद्यालयहरुका ६५ भन्दा वढी विद्यार्थी सहभागी रहेका थिए। सहभागी विद्यालयहरूमा, शंकर मावि, रूपनगर, सर्वोदय मावि, कञ्चनपुर, जनचेतना मावि, घोङ्गिदाहा, ठाकुरजी मावि, जण्डोल, महिकर मावि, पर्सवनी, र नन्द उमा पब्लिक मावि, ओद्राहा थिए।
वित्तीय साक्षरता तालिमलाई प्रभावकारी र लक्षित समूहमा पुर्याउने उद्देश्यले १२ कक्षामा व्यवस्थापन विषय लिएर अध्ययन गरिराखेका विद्यार्थीहरूलाई तालिममा सहभागी गराइएको थियो।क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले यस प्रकारका तालिम सामुदायिक क्याम्पसले समाजलाई गर्ने योगदान अन्तर्गत आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुहुन्छ, ‘आगामी दिनमा डिजिटल साक्षरता, आधारभूत कम्प्यूटर तालिम, ग्राफिक डिजाइन, फोटो इडिटिङ्ग, लेखा व्यवस्थापन, लोकसेवा तयारी, जस्ता विषयमा पनि तालिम सञ्चालन गर्नेछौँ।।
फोटो: क्याम्पस फिचर
तालिमको प्रमुख प्रशिक्षकको भूमिकामा नबिल बैंक लिमिटेड, कञ्चनपुर शाखाका प्रबन्धक सुरज ठाकुर र उहाँका सहयोगीहरू हुनुहुन्थ्यो। बैंकिङ र वित्तीय क्षेत्रमा लामो अनुभव भएका ठाकुरले विशेष गरी डिजिटल बैंकिङ र अनलाइन सुरक्षा सम्बन्धी विषयमा सहभागीहरूलाई ज्ञान प्रदान गर्नुभयो।
तालिम कार्यक्रमको उद्घाटन प्राध्यापक गजुरेल, प्रमुख प्रशिक्षक ठाकुर र ठाकुरजी माध्यमिक विद्यालयका शिक्षक भुपेन्द्र यादवले संयुक्त रूपमा बत्ती बालेर गरेका थिए।