भूपदेव माली
पौष १९ गते, सप्तरी।
तीन दिनदेखि निरन्तर चिसो हावा चलेर र वातावरणमा बाक्लो हुस्सुले डम्म ढाकेपछि सप्तरी सहित तराई मधेसका जिल्लामा जनजीवन कष्टकर भएको छ ।
बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै सितलहर सुरु भएसँगै चिसो हावा चल्दै गरेकोले जनजीवन कष्टकर बन्दै गएको हो ।
चिसो र सितलहरले पूर्व झापादेखि कञ्चनपुरसम्म तराईका जिल्लामा जनजीवन प्रभावित पारेको छ । चिसोको कारण सप्तरीका विभिन्न गाउँहरूका जनजीवन कष्टकर बनेको छ । सप्तरीको पातो,बरसाईन,कञ्चनपुर, फत्तेपुर , राजविराज , भारदह, हनुमाननगर , महुली र रुपनी बजारहरुमा ग्राहकको चहलपहल घटेको छ । अत्यधिक जाडोले सवारीसाधनमा यात्रुको चाप समेत घटेको छ र हुस्सुले गर्दा रात्री सेवा सवारी साधन गुड्न समेत कठिन भएको छ।
चिसोबाट बच्चा, वृद्ध र विपन्न परिवारहरु बढी प्रभावित हुनेगरेको छ । खासगरी किसानलाई खेतबारीमा कामकाज गर्न असहज हुनु संगै गाई-गोरु, बाख्रा आदी लाई चरचारण गर्न मुश्किल भएको छ। अत्यधिक चिसोको कारण मानिसहरुलाई घर बाहिर निस्कन समेत मुस्किल परेको हुँदा कोशी नदी भित्रको क्षेत्रमा मकै र गहुँको बालीहरूको रक्षाको लागि खेतमा राती जंगली जनावर पहरेदारी गर्ने कृषकहरु लाई ठुलो समस्याको सामना गर्नुपरेको भारदहका किसानहरुले दूखेसो बताउँछन् ।
भारदहको प्रसिद्ध शक्तिपिठ कंकालिनी भगवती मन्दिरमा भक्तजनहरुको उपस्थिति कम भएको छ र विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ । न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार व्यवसायमा मन्दी आउन थालेको भारदह बजारका कपडा व्यापारी विक्रम मण्डलले बताए ।ग्रामिण भेगमा चिसो बाट जिउ जोगाउन घुर (आगो) बालेर तापिरहेका छन् । जाडोको कारण तराई मधेशमा विपन्न परिवारका व्यक्तिहरू अत्याधिक समस्या भएको छ ।
चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरू बढी प्रभावित भएका छन् ।
स्थानीय तहले आगो बालेर ताप्नको लागि दाउराको ब्यवस्था र न्यानो कपडाको प्रबन्ध गरिदिने मुसहर समुदायका मानिसहरू आशामा आगो ताप्न विवस छन् ।