माघ १२ गते , सप्तरी।
सप्तरीमा नेपाल तामाङ घेदुङ अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ सितापुरले आफ्ना सदस्यहरुलाई ल्होछार मान्न एक कार्यक्रम बिच खर्च वितरण गरेको छ ।
सनिवार वडा नम्बर २ की अध्यक्ष सरस्वती गोले तामाङको अध्यक्षता एवं संघीय सदस्य भिम घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ल्होछार खर्च वितरण गरिएको हो ।
२८६१ औं सोनाम डुल ल्होछारको अवसर पारेर गरिएको कार्यक्रममा ल्होछार खर्च वितरण तथा शुभकामना आदानप्रदानमा आधारित रहेर प्रमुख अतिथि संघीय सदस्य घिसिङ द्वारा ८७ हजार ४ सय ७२ रुपैयाँ प्रदान गरिएको थियो। वडा घेदुङमा आवद्ध ३४ घरपरिवारलाई ल्होछार मान्न प्रोत्साहन स्वरुप खर्च गर्न सो रकम वितरण गरिएको वडा अध्यक्ष गोलेले बताइन् ।
यो पर्व मनाउन वडामा रहेका ३४ घरधुरीले बर्षदिन बचत गरेअनुसार ६ प्रतिशत व्याज थप गरि बचत फिर्ता गरिएको समेत उनले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिसिङले ल्होछारको पूर्वसन्ध्यामा खर्च वितरण कार्यक्रम संसार भरीका तामाङहरुको लागि अनुकरणीय रहेको बताए । उनले सप्तरी घेदुङले ल्होछारको पूर्वसन्ध्यामा आयोजना गरेको तामाङ जागरण तथा सोनाम ल्होछार सांस्कृतिक अभियान तथा यस्ता कार्यक्रमहरु उदाहरणीय रहेको उल्लेख गरे ।
घिसिङले यस प्रकारको कार्यक्रमले तामाङ समुदायलाई आफ्नो संस्कार र संस्कृति संरक्षण तथा जातीय पहिचान र अधिकारको संघर्षमा जुट्न प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ सप्तरी सदस्य मान बहादुर योन्जन, लगुमाया न्यासुर, राजविराज नगर घेदुङ अध्यक्ष देवेन्द्र घिसिङ, नेपाल तामाङ साँस्कृतिक घेदुङका अध्यक्ष टिक बहादुर लो तामाङलगायतकाले शुभकामना मन्तव्य राखेका थिए।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत मन्तव्य वडा घेदुङका सदस्य तिलक लो तामाङले राखेका थिए।