• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

कृषि औजार कारखाना पुनःसञ्चालनका लागि डा. महाबिर पून पुस्तक बिक्री गर्न राजविराजमा

img

न्युज 1नेपाल संवाददाता
माघ १३ गते,सप्तरी।
सामाजिक अभियन्ता तथा बैज्ञानिक डा. महाबिर पुनले बन्द रहेको वीरगंज कृषि औजार कारखाना पुनःसञ्चालन गर्न आफ्नै आत्मकथा “सम्झना, सपना र अबिरल यात्रा” पुस्तक बिक्री गर्दै राजविराज आइपुगेका छन्। पुस्तक बिक्रीबाट आर्थिक सहयोग जुटाउने अभियान तहत विभिन्न ठाउँको भ्रमण गर्दै पुस्तक बिक्रीको क्रममा शनिबार राजविराज आइपुगेका हुन्।
यो अभियानअन्तर्गत हालसम्म डा. पुनले करिब ९ करोड रुपैयाँ संकलन गरेका छन्। सप्तरीको राजविराजमा पुस्तक बिक्री गर्दै गरेका डा. पुनले विगत ३० वर्षदेखि बन्द अवस्थामा रहेको वीरगंजको कृषि औजार कारखानालाई पुनर्जीवित गर्न यो प्रयास गरिएको बताए।
डा. पुनका अनुसार, ३०७ दिनमा १ लाख ५५ हजार ५ थान पुस्तक बिक्री भइसकेका छन्। उनले संकलित रकमले कारखाना मर्मत गरी साना किसानहरूको सेवा गर्ने उद्देश्य रहेको स्पष्ट पारे। राजविराजका विभिन्न चौक र गल्लीहरूमा सक्रिय रहेका डा. पुनले ४३ थान पुस्तक बिक्री गर्न सफल भए।
वीरगंज कृषि औजार कारखाना पुनःसञ्चालनसँगै १५ प्रकारका कृषि उपकरण उत्पादन र परीक्षण सम्पन्न भइसकेको जानकारी डा. पुनले दिएका छन्। यस कारखानाको पुनर्जीवनले कृषिप्रधान देश नेपालका किसानहरूलाई अत्यावश्यक औजार उपलब्ध गराउन सहयोग पुग्ने बताए।
कडाकुँडाको शीतलहरका बाबजुद नगरका विभिन्न भागमा पुस्तक बिक्रीमा सक्रिय रहेका डा. पुनलाई स्थानीयवासीले पनि साथ सहयोग दिएका छन्। राजविराजमा पुस्तक बिक्री गरेपछि उनले आइतबार विद्यालय, कलेज, पालिका, र सरकारी कार्यालयहरूमा अभियानलाई विस्तार गर्ने योजना रहेको जनाएका छन्।
वीरगंज कृषि औजार कारखानाको अव्यवस्थित स्थिति देखेर आफूले यो अभियान सुरु गरेको बताउँदै डा. पुनले सरकारी स्वामित्वको यो सम्पदालाई पुनःक्रियाशील बनाउने अठोट व्यक्त गरे। यो अभियान पैसा कमाउने नभई किसानहरूको हितका लागि सेवा भावले गरिएको डा. पुनले स्पष्ट पारेका छन्।
उनको अभियानले किसानहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र आफ्नै देशमा कृषि उत्पादन वृद्धि गर्न ठोस आधार तयार गर्ने विश्वास गरिएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी