न्युज 1नेपाल संवाददाता
फागुन ०५ गते, सप्तरी।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) मधेश प्रदेशको साधारण सभा बारा जिल्ला स्थित कोल्हवीमा हुने निश्चित भएको छ । फोनिज मधेस प्रदेशले आउदो फागुन १७ गते साधारण सभा गर्ने निर्णय गरिएको हो ।
फोनिज मधेश प्रदेशका महासचिव बृजमान तमाङको अनुसार मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीको प्रमुख अतिथ्यमा साधारण सभा गर्ने भएको छ।
उक्त साधारणसभाबाट फोनिज मधेश प्रदेशले स्थापना गरेको प्रदेश स्तरीय २ वटा पत्रकारीता पुरस्कार समेत घोषणा गर्ने महासचिव तामाङले जानकारी दिए । पुरस्कार घोषणासंगै ४ जना सक्रिय पत्रकारलाई नगद दश हजार राशीसहित पुरस्कृत समेत गरिने उनले जानकारी गराए।
फोनिज मधेस प्रदेशले क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कार तथा देवनारायण गनिया स्मृती पत्रकारीता पुरस्कार स्थापना गरेको फोनिज मधेश प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीले बताए । क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कारबाट २ जना कृयाशील पत्रकारलाई नगद जनही १० हजार राशीबाट पुरस्कृत गरीने छ । त्यसैगरी देवनारायण गनिया स्मृती पत्रकारीता पुरस्कारबाट २ जना जनजाती पत्रकारलाई जनही नगद १० हजार राशीको पुरस्कार प्रदान गरिने छ । फेनिज मधेश प्रदेशका अध्यक्ष चौधरीको अनुसार फोनिज मधेश प्रदेशले प्रत्येक वर्ष ४ जना पत्रकारलाई पुरस्कार दिने बताइएको छ।
यसैगरी प्रदेश अध्यक्ष चौधरीको संयोजकत्वमा महासचिव तामाङ र कोषाध्यक्ष ज्वोती लामा रहेको ३ सदस्यीय पुरस्कार छनौट समिती गठन गरिएको छ ।
बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० बेल्वा निवासी कमल बाबु चौधरी संचालन गरेका क्रिएटिभ वल्ड डिजिटल प्रा.लि. कम्पनीका नाममा क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कार प्रदान गरिने जनाएको छ । चौधरी पछिलो समय सामाजसेवीसँगै कुशल व्यवसायीको रुपमा समेत परिचित रहेको छ । त्यसैगरी देवनारायण गनिया स्मृती पत्रकारीका पुरस्कारको संरक्षक बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ का किशोरी प्रसाद चौधरी तथा महेन्द्र प्रसाद चौधरी रहेका छन् ।
दुबैजना चौधरी दाजुभाई हुन् । जोठो किशोरी प्रसाद चौधरी सरकारी वकिलबाट अवकास प्राप्त व्यक्ति हुन् । भने कान्छो महेन्द्र प्रसाद चौधरी कृषि वरिष्ठ अधिकृतबाट अवकास प्राप्त कुशल राष्ट्र सेवक कर्मचारी हुन् ।
दुबै दाजुभाईले आफ्नो बाबु तथा आमाको नाममा करोडौ मूल्य पर्ने १५ कठ्ठा जग्गा दान गरी विद्यालय स्थापना गरेका छन् । तिनै दुई दाजुभाईले आफ्नो आमा र बुवाको नाममा पत्रकारीता पुरस्कार दिने घोषणा गरेका हुन् । फोनिज मधेश प्रदेशका अध्यक्ष चौधरीले पुरस्कार दिने दाताहरुलाई धन्यवाद दिदै पत्रकारिताको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।