भूपदेव माली
चैत्र १७ गते, सप्तरी।
पत्रकार सुरेश रजकको हत्या र उनको सञ्चार गृहमा भएको आगजनी विरुद्ध सप्तरीका पत्रकारहरूले आज विरोध प्रदर्शन गरेका छन्।पत्रकार सुरेश रजक हत्या प्रकरण विरुद्ध दोषीलाई कारवाही र मृतक पत्रकार परिवारलाई क्षतिपूर्तिको माग गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अगुवाइमा पत्रकारहरूले कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन्।
सञ्चार स्वतन्त्रतामाथि भएको आक्रमणलाई निन्दा गर्दै पत्रकार महासंघले दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। महासंघका अध्यक्षले भने, “पत्रकारिता क्षेत्रलाई डरभित्र राख्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन।”
सप्तरीका पत्रकारहरूले घटनाको उच्चस्तरीय छानबिन, दोषीको तत्काल गिरफ्तारी र सञ्चारकर्मीहरूको सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। विरोध सभामा विभिन्न सञ्चार माध्यमका पत्रकार, नागरिक समाजका प्रतिनिधि उपस्थिति रहेको थियो।
काठमाडौँमा भैरवको आन्दोलनको रिपोर्टिङ गर्न गएका पत्रकारलाई भएको हत्या विरुद्ध एवं संचार क्षेत्रलाई स्वतन्त्र राख्नका निमित्त
नेपाल पत्रकार महासंघको शनिबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सुनियोजित रूपमा भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणको विरोधमा आइतबारदेखि थप तीन दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेअनुरूप आज सप्तरीका पत्रकारहरूले पनि कालोपट्टी बाँधेर आन्दोलन गरेका छन्। त्यस्तै, सोमबार महासंघ केन्द्रले संघीय सरकारका गृहमन्त्रीलाई, प्रदेश समितिहरूले प्रदेशका गृहमन्त्री र जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत एकैसाथ सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको जनाइएको छ । त्यस्तै, मंगलबार घटनाका विषयमा सञ्चारगृहका सम्पादक र सरोकारवाला संघसंगठनका नेतासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।
घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्ने निर्णय गरेको र पत्रकार सुरेश रजक कार्यरत रहेको सञ्चार संस्थालाई समेत उनको परिवारलाई राहत तथा क्षतिपूर्ति, सेवासुविधा भुक्तानी लगायतका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।