भूपदेव माली
चैत्र १८ गते, सप्तरी।
सप्तरीको राजविराजमा गणतन्त्रको समर्थनमा नेपाल कम्यूनिष्ट पार्टी एमालेलेविशाल मोटरसाइकिल र्याली गरेका छन्।
राजावादी समूहहरू द्वारा गरिएका क्रियाकलापको विरुद्ध शक्ति प्रदर्शन गर्ने क्रममा सोमबार राजबिराजमा नेकपा एमालेद्वारा मोटरसाइकिल र्याली निकालिएका हुन्।
हजारौंको सङ्ख्यामा रहेका मोटरसाइकल र्यालीले नेकपा एमाले – जिन्दाबाद! प्रतिगमन शक्ति – मुर्दावाद! गणतन्त्र – जिन्दाबाद! आदि नारा लगाउँदै राजविराजको मदननगरस्थित नेकपा एमालेको पार्टी कार्यालयबाट निस्केका मोटरसाइकल र्याली अदालत रोड हुँदै नेता चौक अनि क्षेत्रीगाछी मोडबाट मोडेर नहरको बाटो हुँदै बिहारपुर बाट पुन नेता चोकमा आएर कुन कोणसभामा परिणत भएको थियो।
नगर अध्यक्षले मञ्च संचालन गरेको कुन सभामा एमालेका सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चौधरी एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले मन्तव्य राखेका थिए।
कार्यक्रममा बोल्दै नेता प्याकुरेलले “जब कुनै पनि देशका राजाले प्रजामाथि शोषण र दमन गर्न थाले तब त्यहाँका जनताहरुले ती राजालाई उखालेर फालेका इतिहास साक्षी छ। नेपालका राजाले पनि प्रजालाई शोषण ,दमन र अत्याचार गरेकाले लोकतन्त्रको स्थापना भएको कुरा सबैलाई अवगत नै छ। यति बेला राजाका केही भाइ – भारदार एवं सेवकहरूले राजालाई पुनः राजगद्दी दिलाउने प्रयास गर्नु कदापि सफल हुने छैन , नेपाली जनता सचेत छन् ,नेपाली जनतालाई विकास चाहियो, विकासका लागि गणतन्त्र आवश्यक भएकोले हामी सबै गणतन्त्रवादी एक हुनैपर्छ।” भन्नुभयो।