लोकतन्त्र भनेको रातो झण्डा र परिवर्तनको नारा लागेको वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजय भएको दिनका रुपमा स्मरण गर्ने दिन हो। तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीको संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण भूमिकालाई स्मरण गर्ने दिन हो लोकतन्त्र दिवस। खासगरी जहानिया प्रत्यक्ष शासनलाई अन्त्य गरी सुनौलो दिनको रूपमा वैशाख ११ लाई लिने गरिएको छ।
जनताको प्रत्यक्ष शासन हुने व्यवस्थालाई नै लोकतन्त्र भनिन्छ। लोकतन्त्रमा राज्यको सम्पूर्ण शक्ति जनतामा केन्द्रित हुन्छ। जनताले छानेका नेतृत्वबाट नै शासन चल्ने गर्दछन्।
२०६२ र ६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन पश्चात वैशाख ११ गते निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो। त्यतिबेला सशस्त्र युद्धरत तत्कालीन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरूबीच सम्पन्न १२ बुन्दे सहमति पश्चात ऐतिहासिक जनआन्दोलन भएको थियो। यस आन्दोलनको क्रममा धेरै सहिद भए भने धेरै नै घाइते पनि हुन गएका थिए। तत्पश्चात राजा राजगद्दी त्याग गरी शासन व्यवस्था जनताको हातमा दिएको थियो।
जनआन्दोलनको सफलतासँगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो। आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद पुनः स्थापना गर्दै जनताको नासो जनतालाई नै दिए। अनि राजाले शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बाहिरिएका थिए । त्यही वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको देखिन्छ।
देशलाई समृद्धिको बाटोमा हिँडाउन संविधानसभाको यात्रा यही आन्दोलनबाट सुरु भएको थियो। यसको फलस्वरूप सबै नेपालीको आकांक्षा पूरा गर्न २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी हुन सफल भएको थियो। त्यसै संविधान अनुरुप यतिबेला नेपालका शासन व्यवस्था चलिरहेको अवस्था छ। यद्यपि लोकतन्त्रको गरिमा र त्यसप्रतिको विश्वासमा वर्तमान राजनीति दलका नेताहरू कतिको अडिग छन् भन्ने प्रश्न उठ्न थालेको छ। के साँच्चिकै लोकतन्त्रप्रतिको विश्वास र आस्था अझै उस्तै छ त? लोकतन्त्रका नेतृत्वहरूले यसको महिमा कायम राख्न सकेको छ त? वा जनताले अर्को विकल्पको अपेक्षा गर्न थालिएको छ ? यी सम्पूर्ण प्रश्नहरूका जवाफ कसले दिने हो त?
यतिबेला नेपाली जनताले लोकतन्त्रको भन्दा पनि लुटतन्त्रको शासन बलियो भएको ठान्दछन्। नेपाली जनता अत्यधिक करको मारमा परेका छन्। वास्तवमा लोकतन्त्र व्यवस्था कायम राख्न लोकतन्त्र प्रवर्धक नेताहरूले सचेत हुनु जरुरी छ अन्यथा नेपाली जनताले अर्कै विकल्प खोजिने होला। सावधान हुनु आवश्यक भएको छ।