भूपदेव माली
वैशाख २७ गते , सप्तरी।
प्रेस चौतारी नेपाल शाखा सप्तरीको दोस्रो बैठक राजविराजमा सम्पन्न भएको छ ।
शनिबार संगठनका अध्यक्ष डम्बर राईको अध्यक्षता तथा नेकपा एमाले सप्तरीका उपसचिव दुर्गानन्द ठाकुरको आतिथ्यतामा विभिन्न निर्णयहरू गर्दै बैठक सम्पन्न भएको हो ।
बैठकमा सम्बोधन गर्दै नेकपा (एमाले) जिल्ला कमिटीका उपसचिव ठाकुरले पार्टीलाई बलियो र मजबुत बनाउन प्रेस चौतारीको अहम भुमिका रहेको बताउनुभयो । उहाँले संगठनलाई सक्रिय बनाउनका लागि पार्टीले सकारात्मक भुमिका खेलिरहेको बताउँदै आन्तरिक प्रतिस्पर्धालाई एकतामा बदल्न आवश्यक रहेको बताउनुभयो ।
प्रेस चौतारी सप्तरीका अध्यक्ष राईले चौतारीलाई थप सुदृढ बनाएर अघि बढाउन आफ्नो टिम विगतमा भन्दा पृथक तरिकाले लागेको बताउनुभयो ।
बैठकले अध्यक्ष र कोषाध्यक्षको अनिवार्य हस्ताक्षर हुने गरि बैंक खाता संचालन गर्ने र बैठकमा छलफल नगरी पैसा निकाल्न नपाइने निर्णय समेत गरेको छ ।
त्यस्तै बैठकले आर्थिक वर्ष २०८१/०८२ मा पत्रकारहरुको क्षमता अभिवृद्धि विकास सम्बन्धि कार्यक्रमको लागि स्थानीय तह र प्रदेश सरकारको मन्त्रालयसँग कार्यक्रमका लागि पहल गर्ने निर्णय गरेको छ । बैठकले प्रेस चौतारी नेपाल सप्तरीको संगठन विस्तार अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाउने निर्णय समेत गरिएको छ ।
बैठकले उक्त संगठनको प्रत्येक महिना तथा आवश्यकता परेको बेला बैठक राख्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले प्रेस चौतारी नेपाल सप्तरीको आठौं अधिवेशनमा चौतारी प्रवेश गरेका मनोज मेहता अन्य अर्को संगठनमा लागेको हुँदा मेहतालाई चौतारीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको छ ।
बैठकमा उपाध्यक्ष शिवप्रसाद आचार्य, सह-सचिव उत्सव आचार्य, नविन यादव, कोषाध्यक्ष भूपदेव माली, सदस्यहरु कमल प्रसाद मण्डल, रवि कुमार शर्मा लगायतको उपस्थिती रहेको थियो भने बैठक जिल्ला सचिव कृष्ण मण्डलको सञ्चालनमा सम्पन्न भएको थियो ।