काठमाडौँ —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि गरिएको आतंकवादी हमला विरुद्ध भारतीले छेडेका युद्ध र पाकिस्तानको पनि आक्रमक स्थिति लाई रोक्न पहल गर्दा भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको बताएका छन् । शनिबार अपरान्ह सामाजिक सञ्जाल प्लाटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले अमेरिकाको मध्यस्थताले यो सम्भव भएको भन्दै दुवै देशलाई बधाइ समेत दिएका छन् ।
उनले लेखेका छन्, ‘रातभरीको निरन्तर कुराकानी र अमेरिकाको मध्यस्थताका कारण भारत र पाकिस्तानबीच पूर्ण रूपमा र तुरुन्तै युद्ध विराम गर्न सहमति भएको घोषणा गर्न पाउँदा म खुशी छु । विवेक र सही विचारसहितको यस कदमका लागि म दुवै देशलाई बधाइ र धन्यवाद दिन चाहन्छु ।’यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि ट्रम्पको पोस्टको समर्थन गर्दै गएका दुई दिनमा उपराष्ट्रपति जेडी भान्स, वरिष्ठ भारतीय तथा पाकिस्तानी अधिकारीहरूसँगै प्रधानमन्त्रीहरू, नरेन्द्र मोदी र सेहबाज सरिफसँग निरन्तर संवाद गरेको र दुई देशका सरकारहरूले युद्धविरामका लागि सहमति भएको जनाएका छन् । यद्यपि भारतले ढिलो भएपनि यसको पुष्टि गरेका छन्।
भारतीय विदेश सचिव विक्रम मिस्रीले भनेका छन्, ‘शनिबार भारतीय समयअनुसार ३:३५ बजे भारत र पाकिस्तानका सैन्य कारबाही निर्देशकहरूबीच फोन वार्तालाप भएको छ । सो कुराकानीका आधारमा भारतीय समयअनुसार शनिबार ५ बजेदेखि दुवै पक्षबीच स्थल, हवाई र जल गरी तीनै क्षेत्रमा युद्ध र सैन्य क्रियाकलाप तत्काल रोक्न दुई पक्षबीच सहमति भएको छ ।’ यसरी नै पाकिस्तानी उपप्रधान तथा विदेशमन्त्री इसक दरले पनि भारत र पाकिस्तानबीच तत्काल युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।