न्युज 1नेपाल
जेरुसलेम/—इजरायलले गाजा क्षेत्रमा गरेको नाकाबन्दीले खाद्यान्नको हाहाकार उत्पन्न भएको छ । गाजा पट्टीको उत्तरमा रहेको बेइत लाहियाको वितरण केन्द्रमा प्यालेस्टिनीहरूले खाद्यान्नका लागि संघर्ष गरिरहेका सार्वजनिक तस्बिरहरूले पुष्टि गरेको हो।
विभिन्न १० वटा सहायता एजेन्सीहरूले गाजा क्षेत्रमा मानवीय अवस्था बिग्रँदै गइरहेको बताएका बीबीसीले उल्लेख गरेको छ । इजरायलले गाजामा सहायता रोक्नु युद्धको सबैभन्दा विवादास्पद मुद्दामध्ये एक बनेको छ ।
इजरायले हमासलाई बाँकी बन्धक रिहा गर्न दबाब दिने उद्देश्यले २ मार्चमा खाद्यान्न तथा मानवीय सहायता वितरण गर्ने सबै बाटा बन्द गरिदिएको थियो । हमासले सहायतासामग्री चोरी गरेको आरोप लगाउँदै इजरायलले उसलाई दबाब दिनका लागि नाकाबन्दी गरेको दाबी गर्दै आएको छ।
इजरायल र अमेरिकाले नयाँ सहायता वितरण प्रणाली आवश्यक रहेको तर्क गरेका छन् । तर संयुक्त राष्ट्रसंघ र यसका मानवीय साझेदारहरूले सहायतालाई हतियार बनाउने प्रयास गरिएको भन्दै उनीहरूको प्रस्ताव अस्वीकार गरेका छन् । युद्धको समयमा आपूर्तिको प्रवेश र वितरणमा कडा निगरानी कायम राखेको उनीहरूको भनाइ छ ।
यसै साताको सुरूमा विश्वव्यापी खाद्य अनुगमनकर्ता, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणको एक रिपोर्टले गाजामा कम्तीमा पाँच लाख मानिसहरूले भोकमरीको सामना गरिरहेको र सम्पूर्ण २१ लाख जनसंख्याले तीव्र खाद्य असुरक्षाको अनुभव गरिरहेको उल्लखे गरेको छ । इजरायलको सैन्य आक्रमणको योजनाबद्ध विस्तार, सहायता सामग्रीमा अवरोध र ठूलो संख्यामा स्थानीयको विस्थापनका कारण गाजापट्टीमा अनिकालको जोखिम रहेको रिपोर्टमा उल्लेख छ।
तर इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले भने गाजामा खाद्यान्न अभाव नरहेको दाबी गरेका छन् । ‘गाजामा खाना छ, त्यो हाम्रो जानकारी हो,’ उनले भने, ‘अन्तिम बन्धक रिहाइका बेला २५ हजार भन्दा बढी सहायता ट्रकहरू भित्रिए । आज पनि गाजामा बजारहरू खुला छन् त्यसैले त्यहाँ खाना छ, अनिकाल छैन।