न्युज 1नेपाल संवाददाता
जेष्ठ ०४ गते, सप्तरी।सप्तरीका प्रहरीले विभिन्न मुद्दाका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लुकिछिपी गाउँघरमा बस्दै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो ।
विभिन्न मुद्दामा दोषी ठहर भई सजाय पाए पश्चात् फरार भएका प्रतिवादीलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ठगी मुद्दामा २ वर्ष ११ महिना १० दिन कैद तोकिएका सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर २ का सुमन्त कुमार मिश्र , लेनदेन बिगो मुद्दामा १ वर्ष कैद सजाय तोकिएका डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ का सन्तोष कुमार साह र लेनदेन बिगो मुद्दाकै २ महिना कैद सजाय पाएका तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ३ का बद्री मुखिया रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
डिएसपी बस्नेतको अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको छ।