भूपदेव माली
जेठ १० गते , सप्तरी।
हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुर स्थित हुलाकी राजमार्गमा शनिबार एक मोटरसाइकिलले ट्याक्टरको पछाडि ठक्कर दिँदा मोटरसाइकल चालक सहित दुईजनाको मृत्यु भएको छ ।
राजबिराजतर्फ जाँदै गरेको इट्टा लोड भएको स १ त ५४४२ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउँदै गरेको म.प्र.०२-०१९ प ९६२६ नम्बरको मोटरसाइकल ट्याक्टरको पछाडी ढालामा ठोकिदा पहिचान नखुलेको अन्दाजी २६ बर्षिय र २२ बर्षिय युवकको मृत्यु भएको हो ।
दिउँसो ०२:३५ बजेको समयमा भएको दुर्घटनामा घाइते ३ जना मध्ये अन्दाजी वर्ष २६।२७ को १ जनाको अस्पताल ल्याँउदै गर्दा बाटोमा नै मृत्यु भएको तथा अर्को घाईते अन्दाजी वर्ष २२।२३ को अस्पतालमा ल्याई इसीजी गर्दा १५;१५ बजेको समयमा चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते अन्दाजी वर्ष २०।२२ को युवकको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भईरहेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । नाम थर वतन नखुलेको तीनैजना मोटरसाइकलमा सवार रहेको एसपी खतिवडाले बताए ।
मृतक दुबैजनाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको, ट्र्याकटर र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको तथा ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।