न्युज 1नेपाल संवाददाता
जेष्ट ११ गते, काठमाडौँ। आउँदो जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं शहर एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै पार्टी कार्यकर्तालाई तयारी गर्न प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
राजावादीहरूले सोही १५ गतेका दिन काठमाडौंमा आन्दोलन घोषणा गरेपछि ओलीले यस्तो निर्देशन दिएका हुन् ।
आइतबार बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै ओलीले भने, “जेठ १५ मा काठमाडौं एमालेको कब्जामा हुनुपर्छ । आन्दोलनमा कुनै प्रोटोकल लागू हुँदैन, सबै एकजुट हुनुपर्छ ।” उनले प्रशिक्षण सकिएलगत्तै कार्यकर्तालाई जेठ १५ को तयारीमा जुट्न आग्रह गरे ।प्रधानमन्त्री ओलीले राजावादीहरूको आन्दोलनलाई ‘सानो स्वार्थ’ र ‘अनावश्यक फूर्ति’ को संज्ञा दिँदै सरकार र जनताको मौनताको फाइदा उठाएको आरोप लगाए । “उनीहरू कुनै महान उद्देश्यका लागि लडेका होइनन्। हामी तयार रहनुपर्छ,” उनले भने । पार्टीले थप निर्देशन दिने भन्दै ओलीले कार्यकर्तालाई जेठ १५ को लागि सुसज्जित तयारी अवस्थामा रहन भनेका छन् ।