न्युज 1नेपाल संवाददाता
जेष्ठ ११ गते, सप्तरी।मधेस प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई आउँदो जेठ १५ गते सम्मानित गर्ने भएको छ।
गणतन्त्र दिवसको अवसरमा मधेस सरकारको गृह,सञ्चार तथा कानून मन्त्रालयले उनीहरुलाई सम्मान गर्ने भएको हो ।
गृह,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले गणतन्त्र दिवसको अवसरमा यही जेठ १५ गते एक भब्य समारोहका बिच यस प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान सहित अभिनन्दन गरिने जानकारी गराए ।
मन्त्री लेखीले नेपाल पत्रकार महासंघ मधेस प्रदेश र यस प्रदेशका आठ वटै जिल्ला स्थित रहेका नेपाल पत्रकार महसंघका शाखाहरुलाई प्रेस स्वतन्त्रता सेनानीहरुको नामाबली समयमै उपलब्ध गराइ दिन आग्रह समेत गरे।
वि.सं.२०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो ऐतिहासिक बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो ।
गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ । यसै दिवसलाई अवसर पारेर स्वतन्त्रता सेनानी पत्रकारहरूलाई सम्मान गर्ने जनाइएको छ।