• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकेर अन्य बिरामीमा प्रत्यारोपण नेपालमा सफल

img

न्युज 1नेपाल

जेष्ठ १२ गते,काठमाडौँ। मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो नेपालमा पहिलोपटक प्रत्यारोपण गरिएको सफल भएको छ । सवारी दुर्घटनामा परेर मस्तिष्क मृत्यु भएका व्यक्तिको मृगोला एवं कलेजो अन्य रोगीमा प्रत्यारोपण गरिएको नेपालमै पहिलो पटक हो ।
सवारी दुर्घटनापछि उपचारका क्रममा ‘ब्रेन डेथ’ (मस्तिष्क मृत्यु) घोषणा गरिएका १८ वर्षका दोर्जेमान तामाङका अंग झिकेर प्रत्यारोपण गरिएको छ । उनको एउटा मिर्गौला र कलेजो एक पुरुषमा र अर्को मिर्गौला ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ।
काठमाडौंको नारायणगोपाल चोकमा सवारी दुर्घटनापछि दोर्जेमानलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं

मेडिकल कलेज (केएमसी) लगिएको थियो । जेठ १ मा उनको ‘मस्तिष्क मृत्यु’ भएको घोषणा अस्पतालले गरेको थियो । त्यसपछि दोर्जेमानका बुवा र दाइको सहमतिमा अंग झिकेर अन्य विरामीको शरीरमा प्रत्यारोपण गरिएको हो ।

केएमसीका वरिष्ठ सर्जन डा. रोशन घिमिरे नेतृत्वको टोलीले दोर्जेमानको शरीरबाट अंग झिकेको थियो । त्यसपछि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले प्रत्यारोपण गरेको हो । अंग प्राप्त गरेका दुवै बिरामीको स्वास्थ्य सुधारोन्मुख रहेको डा. श्रेष्ठले जानकारी दीए।
दोर्जेमानको कलेजो र मिर्गौला पाएका शिव महर्जनले युवकका परिवारको ‘महादान’ ले आफ्नो ज्यान बच्न सफल भएको टेलिकन्फ्रेन्समार्फत बताए । ‘सबैको सहयोगले मैले अर्को जीवन पाएँ । अंग दिने र प्रत्यारोपण गर्ने डाक्टर, नर्स सबैलाई धन्यवाद,’ आईसीयू बेडबाटै उनले भने ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रले आइतबार गरेको पत्रकार सम्मेलनमा डा. श्रेष्ठले नेपाली टोलीबाट मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो पहिलोपटक एकै व्यक्तिमा प्रत्यारोपण सफल भएको बताए । नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन चारदेखि ६ जनाको मृत्यु हुने गरेको र काठमाडौं उपत्यकामा मात्रै वार्षिक करिब एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेकामा उनीहरूको अंग झिकेर प्रत्यारोपण गर्न सके नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्ने उनको भनाइ छ । एक जना

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला दुई, फोक्सो दुई जनामा, कलेजो, मुटु, प्याङ्क्रियाज, सानो आन्द्रा एक–एक गरी आठ जनामा अंग प्रत्यारोपण गर्न सकिने चिकित्सक बताउँछन्।
वरिष्ठ शल्यचिकित्सक डा. श्रेष्ठ नेतृत्वको प्रत्यारोपण टोलीमा कलेजोतर्फ डा. रोशन घिमिरे र डा. प्रवीण महर्जनले सघाएका थिए भने मिर्गौला प्रत्यारोपणका लागि भने डा. दीपेश श्रेष्ठ, डा. रूपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी र डा. विकास खड्का संलग्न थिए । यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठलगायतले सहयोग गरेका थिए ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी