न्युज 1नेपाल संवाददाता
जेठ१३ गते , सप्तरी। आफ्नो तीनपुस्तादेखिको मोही दर्ता रहेको जग्गा कृते कागजपत्र खडा गरी हड्पिएको प्रयास भएको हनुमाननगर कंकालिनी नपा वडा नं १ भारदहका बालकृष्ण खडागाले आरोप लगाएका छन् ।
राजविराजमा मंगलबार खडगाले पत्रकार सम्मेलनमा आफ्नो प्रमाणहरू देखाउँदै तत्कालीन वडा सचिब महेन्द्र मुखियासहितको मिलोमतोमा कृते कागजात खडा गरि स्थानीय लाल मोहन झा, अरविन्द झा, विनिता कुमारी झा सहितकाले जग्गा हड्प्ने प्रयास गरेको आरोप लगाएका हुन् ।
आफ्नो हजुरबुबा जदु खड्गाको पालादेखि नै भोगचलन गर्दै आएको १२ कठ्ठा १८ धुर जगा बुवा रामस्वरुप खड्गाले २००४ सालमा मोही दर्ता गरि भोगचलन गर्दै आएको जग्गा कृते गरेर हड्प्ने प्रयास गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्गाले तिरो बुझाउँदै अहिलेपनि आफूले हकभोग गरिएको जग्गा देबेन्द्र कायस्थ र उनको छोरा सोभालाल कायस्थको कृते कागतपत्र खडा गरी झा परिवारको नाममा नामसारी गरेको कागजात देखाउँदै खड्गाले कृते कागजपत्र बनाउनमा तत्कालीन वडा सचिब मुखियाले प्रलोभनमा परी प्रमुख भुमिका निर्वाह गरेको आरोप लगाए।
जग्गा हड्प्ने संलग्न परिवारका व्यक्तिहरुले वडामा कहिल्यै कर्मचारी नभएका मटर साह हलुवाईलाई कार्यालय सहयोगी बनाएर कृते कागजात तयार पारेर जग्गा कब्जा गर्न खोजेको उनले बताए ।
‘कार्यालय सहयोगीको दर्जा हलुवाइलाई देखाउँदै उहाँ कहिल्यै साविक गाविस भारदह र हाल हनुमाननगर कंकालिनी नगरपालिका १ को कर्मचारी नै नभएको ब्यक्ति हून्, वडाले पनि कुनैपनि समय हलुवाई कर्मचारी नभएको भनी प्रामाण दिएको छ’ खड्गाले भने,” यस्तो झुठो विवरणको आधारमा कसैको दवाव र प्रभावमा परी भुमी सुधार कार्यालय सप्तरीले मोही दर्ता खारेज गरेको भनि गरिएको फैसला अन्यायपूर्ण र आपत्तिजनक छ।’
भुमीसुधार कार्यालय सप्तरीका प्रमुख ल्क्ष्मी प्रसाद खरेललाई भेटेर कार्यालयको लेटर प्याड बिना सामेल नै नभएको व्यक्तिको नाम राखी कृते गरेर झुठो विवरण पेश भएको बारे प्रमाणसहित पटकपटक भेटेर लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा सुनुवाइ नभएको खड्गाले गुनासो गरे ।
भुमी सुधार कार्यालयका सुब्बा रामनारायण भिन्डावारले विपक्षीहरुको पक्षमा फैसला गरेको जानकारी गराउँदा आफु सार्है दुखी भएको बताउँदै खड्गाले कृते विवरण तयारीमा संलग्न व्यक्तिहरु तथा गलत कागजपत्रको आधारमा मुद्दा फैसला गर्ने मालपोत प्रमुख खरेलमाथि छानवीन गरि कारबाहीको माग गरे ।
आफ्नो मोही दर्ता कायमका लागि पहल तथा न्यायका लागि संचारकर्मी तथा सम्पूर्ण सरोकारवालाहरुलाई पहल गरिदिन पत्रकार सम्मेलनमा उनले आग्रह समेत गरे । उनले आफ्नो जग्गा बइमानी भएकोले न्यायका लागि न्यायिक निकायमा जाने तयारीमा रहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै मटर साह हलुवाइले आफू कहिल्यै पनि सरकारी कर्मचारी नभेको बताए । लामो समयदेखि ठेलामा चटपटी पसल गर्दै आएको जानकारी गराउँदै हलुवाईले कुनै साइनो सम्बन्ध नरहेको कार्यालयको कर्मचारी बनाएर आफ्नो सही कृते गरिएको स्पष्ट पारे ।
उनले जग्गा कृते गर्ने कार्यमा संलग्न परिवार भित्रका ज्योति झाले आफू कर्मचारी भएको पुष्टि गर्न दवाव दिएको आरोप लगाए । उनले आफ्नो दस्तखत दुरुपयोग गरि बदनाम गर्ने कार्यमा संलग्नहरुलाई हदैसम्मको कारबाहीको माग गरे ।