भूपदेव माली
जेष्ठ १५ गते, सप्तरी । सप्तरीकाे सदरमुकाम राजविराज नगरपालिका २ स्थित निर्माण सुरु भएको ३८ बर्षपछि राजविराजको नवनिर्मित बसपार्क निरन्तर संचालनका लागि उद्घाटन भएको छ।
बिहीबार राजबिराज नगरपालिकाद्वारा बसपार्क प्राङ्गणमा आयोजित एक समारोहका वीच कार्यबाहक नगरप्रमुख ईसरत परविनले उद्घाटन गरेकी हुन्।
बसपार्कको शिलालेख अनावरण गर्दै कार्यबाहक नगरप्रमुख परविनले बसपार्क संचालनमा आएपछि नगरको मुख्य सडकमा देखिएको सवारीहरुको चापसँगै बजारको सडकहरू अस्तब्यस्त अबस्थामा सुधार आउने विश्वास व्यक्त गरिन ।
नेपाल पत्रकार महासँघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले बसपार्क उद्घाटन भएपनि संचालन गर्न चुनाैती हुदाँ ब्यबस्थित पार्किंग गरी संचालन गर्न सुझाव दिए।जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादबले बसपार्क निर्माण गर्न पटकपटक शिलान्यास गरिएपनि हुन नसकेकाे अवस्थामा बर्तमान स्थानीय सरकारले संचालनमा ल्याएको भन्दै प्रशंसा गरे । उनले यस बसपार्क निर्माणले राजबिराज नगरकाे मुख्य सडकमा देखिएकाे ट्राफिक समस्या अन्त्य हुने बिश्वास ब्यक्त गरे।
लाेसपा नेपाल सप्तरी अध्यक्ष सुनिल कुमार झाले नियमित बसपार्क संचालन गर्न सबै सराेकारवाला जिम्मेवार हुनुपर्नेमा जाेड दिए।
सगरमाथा ट्रक ब्यवसायी सँघकाअध्यक्ष जगदिश अर्यालले बसपार्क पुर्ण रूपमा संचालनमा ल्याउनु पर्नेमा जाेड दिए। नागरिक समाजका अध्यक्ष थानसिँह भन्सालीले बसपार्कबाटै पुर्ण रुपमा सवारी साधन संचालन गर्न नगरबासी एकजुट हुनुपर्नेमा बताए ।
मैथिली साहित्य परिषद राजबिराजका अध्यक्ष अबधेश झाले धेरै प्रतिक्षा पछि नागरिक सपना पूरा भएकाेले ब्यबस्थित तरिकावाट यातायातका साधन सुचारू गर्न सराेकारवाला निकायलाई आग्रह गरे।
राजबिराज नगरपालीका वडा २ का वडा अध्यक्ष अरूण कुमार यादबकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी भाेला दहाललगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।।
कार्यक्रममा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पौडेल, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, सघन सहरी तथा भवन डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र कुमार साह लगायतकाे उपस्थिति रहेकाे थियाे।
रबिन्द्र साहद्वारासंचालित कार्यक्रममा स्वागत राजबिराज नगरपालिकाका प्रबक्ता एवम् वडा ८ का वडा अध्यक्ष जय नारायण मण्डलले गरे ।
विसं २०४४ मा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले पहिलो पटक, २०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओली, २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र २०७४ सालमामा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालीन प्रमुख शम्भुप्रसाद यादवले संयुक्त रूपमा बसपार्कको शिलान्यास गरेका थिए।
सहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुपियाँमा काम गर्ने ठेक्का पाएको काठमाडौँको कुलेश्वरस्थित सिनर्जी बिल्डर्स प्रालिले बसपार्क निर्माणका लागि २०७४ साल पुस १६ गते सम्झौता गरेको थियो ।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय राजबिराजले गत बैशाख २३ गते एक कार्यक्रम वीच राजबिराज नगरपालिकालाई बसपार्क हस्तान्तरण गरेका थिए ।
बसपार्कमा सेड, घन्टाघर, भित्री सडक, सर्भिस सेन्टर, शौचालय,टर्मिनल भवन तथा बाउन्ड्रीवाल निर्माण गरिएकाे छ।