• img
  • img
img img img

img

सातौं राष्ट्रिय महिला अधिकार दिवस, २०८२ को अवसरमा देश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र
उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
महिला अधिकारका क्षेत्रमा भएका विभिन्न चार उपलब्धीको स्मरणमा सरकारले हरेक वर्षको जेठ १६ गते विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको
आयोजना गरी यो दिवस मनाउँदै आएको छ । आमा बुवामध्ये एकको नामबाट सन्तानले नागरिकता प्राप्त गर्ने, कम्तीमा एक तिहाइ महिलालाई
राज्यको सबै संरचनामा सहभागिताको सुनिश्चितता, विभेदकारी कानूनको खारेजी तथा महिलाप्रति हुने गरेको हिंसा अन्त्य गर्ने विषयलाई मुख्य चार
उपलब्धीको रुपमा लिइएको छ ।
महिलाहरुको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक अधिकारको संरक्षण र प्रवर्धन गर्ने मूल मर्मलाई यो दिवसले स्मरण गराउँदछ । लैङ्गिक
समानता, महिला सशक्तीकरण र महिलाप्रति हुने हिंसा, विभेद र असमनाताविरुद्ध आवाज उठाउने अठोट र प्रण लिने अवसरका रुपमा पनि यो दिवसलाई लिन सक्नुपर्दछ । संविधानमा उल्लेखित लैङ्गिक समानताका प्रावधानहरुलाई कार्यान्वयन गर्न र सामाजिक जागरुकता फैलाउनमा यो
दिवसले महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास लिएको छु । लैङ्गिक असमानता र महिलाप्रति हुने सबैखाले अन्यायको अन्त्यका लागि सचेतना
फैलाउन, सरकार र सम्बन्धित निकायहरुलाई महिला अधिकारका लागि प्रभावकारी नीति तथा कार्यक्रमका साथ ठोस कार्यान्वयनमा उत्प्रेरित गर्न सके मात्र यो दिवसको सार्थकता थप पुष्टि हुन सक्छ । महिलाहरुलाई आफ्ना अधिकारबारे जानकारी दिने र नेतृत्व, शिक्षा र आर्थिक अवसरमा सहभागी
गराउने, लैङ्गिक हिंसा, बालविवाह, दाइजो जस्ता कुप्रथाविरुद्ध सामुदायिक एकताको अपरिहार्यतालाई आत्मसात गर्दै अघि बढनु आजको
आवश्यकता पनि हो ।
हरेक महिला र पुरुष बराबर छन् । समाज र देशको समृद्धि, उन्नति र प्रगतिका लागि लैङ्गिक समानता अनिवार्य विषय हुन् । महिलाहरुलाई आफ्नो क्षमता पहिचान गरी समाज र देशमा सकारात्मक योगदान दिन यो दिवसले उत्प्रेरित गर्दै सबैलाई लैङ्गिक समानताका लागि एकजूट भई अग्रसर हुन सहयोग पुगोस् । प्रत्येक सानो कदमले महिलाहरुको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने भएकाले सबै पक्ष यसप्रति सचेत र जागरुक हुँदै अघि बढ्न सक्नुपर्दछ । महिला सशक्तीकरणका लागि शिक्षा र सीप विकास, आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिता, महिला नेतृत्व र उद्यमशीलता, कानूनी सुधार र अधिकार, स्वास्थ्य र प्रजनन अधिकार जस्ता मुलभूत विषयहरुलाई अनिवार्य सर्तका रुपमा अवलम्बन र कार्यान्वयन गर्न आवश्यक छ । यिनै सर्तहरुलाई टेकेर अघि बढ्न सके मात्र महिलाहरुलाई समाज र देशमा बराबरीको स्थान प्राप्त हुन सक्दछ । यसले लैङ्गिक समानता र समावेशी समाज निर्माणमा योगदान पुग्ने छ ।
नेपालको संविधानले स्थानीय तहमा महिलाको सम्मानजनक प्रतिनिधित्वलाई अनिवार्य गरेको छ । यो व्यवस्थाले धेरै पालिकाहरुमा महिलाहरुको
उल्लेख्य उपस्थिति गराएको छ । यसले महिलाहरुलाई नीति निर्माण र नेतृत्वमा सहभागी गराउँदै सामाजिक परिवर्तनमा उनीहरुको योगदानलाई
परिणाममुखि र सकारात्मक बनाएको छ । गैरपरम्परागत क्षेत्रहरुमा पनि महिलाहरुको उपस्थिति उल्लेख्य हुनु अर्को सकारात्मक पक्ष हो । सम्पत्तिमा
समान हक र लैङ्गिक हिंसाविरुद्धका कडा कानूनहरुले महिलाहरुलाई आफ्नो अधिकारको रक्षा गर्न सक्षम पनि बनाएको छ । यस्ता कानूनी प्रावधानले महिलाहरुलाई सामाजिक र पारिवारिक उत्पीडनबाट जोगाउँन सहयोग पुग्नुको साथै उनीहरुको आत्मविश्वासमा बढोत्तरी भएको छ ।
प्रत्येक नागरिकलाई सम्पत्तिमा समान हक हुने व्यवस्था संविधानको धारा २५ ले गरेको छ । अन्य मुलुकमा सम्पत्ति सम्बन्धि हकलाई कानूनी हकका
रुपमा व्यवस्था गरेपनि नेपालमा यसलाई मौलिक हकको रुपमा समावेश गरिनु अत्यन्तै सकारात्मक छ । यसैगरी, संविधानको धारा ८६ (२) ‘क’ मा
प्रत्येक प्रदेशबाट कम्तिमा तीन जना महिलालाई राष्ट्रियसभामा अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था छ। प्रतिनिधि सभाका लागि समानुपातिक
व्यवस्था अनुसार एक तिहाई महिलालाई अनिवार्य गरिएको छ । संविधानको धारा ११ (२) को ‘ख’ अनुसार कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको
बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति नेपालको नागरिक ठहरिने छ भने प्रष्ट व्यवस्था छ । यसअघि यो व्यवस्था थिएन ।
अन्त्यमा, महिला अधिकारको प्रत्याभूति बिना समाजको समान विकास असम्भव छ । न्याय, समानता, समावेशिता र सशक्तीकरणको मार्गबाटै
समृद्ध र विकसित नेपालको निर्माण सम्भव छ । अझ, महिला अधिकारको प्रभावकारी कार्यान्वयन, शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण र
राजनीतिक सहभागिता सुनिश्चित गर्न सरकार, नागरिक समाज तथा सबै क्षेत्रसंग सहकार्य आवश्यक छ । महिला हिंसा अन्त्य, लैङ्गिक समानताको
प्रवर्धन तथा निर्णय प्रक्रियामा महिलाको नेतृत्वलाई प्रोत्साहन गर्दै सबैले सबल, सक्षम र आत्मनिर्भर महिला समुदायको स्थापनार्थ निरन्तर योगदान
गर्न यो दिवसले प्रेरणा प्रदान गरोस् । समानता, सामाजिक न्याय र महिला सशक्तीकरणका लक्ष्यहरु प्राप्त गर्न सबै एकजुट भई अघि बढ्न यो दिवसले
थप उत्प्रेरित गर्न सकोस् भन्दै पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी