न्युज 1नेपाल
जेठ१८ गते, काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध अदालतद्वारा पक्राउ पूर्जी जारी भएको छ ।
आइतबार बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण अदालत (आईसीटी) ले अपदस्थ प्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
आजबाट आइसीटीमा उनी विरुद्धको अभियोजनमाथि सुनवाइ सुरु भएको छ । गत १५ जुलाईदेखि एक महिना चलेको विद्यार्थी आन्दोलनको क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको आरोप उनीमाथि छ । सोही आन्दोलनले उनलाई अपदस्थ गरेको थियो ।आन्दोलन उत्कर्षमा पुगेपछि उनी हेलिकप्टर चढेर भारत पलायन भएकी थिइन् । अहिले पनि उनी भारतमै रहेकी छन् ।भारतमा शरण लिइरहेकी हसिनामाथि सामूहिक हत्या, उक्साहट, मिलोमतो, षडयन्त्र, हिंसा नियन्त्रणमा असफल भएको लगायतको अभियोग लगाइएको छ ।
हसिनामाथि विद्यार्थी नेतृत्वको आन्दोलन दबाउन शक्तिको दुरुपयोग गरेको आरोप छ । उक्त आन्दोलनमा राज्यपक्षले क्रुर दमन गर्दा एक हजार ४ सय मानिसको मृत्यु भएको थियो । तर, हसिनाले भने यी आरोपलाई राजनीतिक प्रतिशोध भन्दै अस्वीकार गर्दै आएकी छन् ।
बंगलादेशको इतिहासमै उच्चपदस्थ व्यक्तिमाथि लागेको गम्भीर अपराधको मुद्दामा भइरहेको बहस अदालतका लागि संवेदनशील विषय हो।