न्युज 1नेपाल
जेठ २० गते, काठमाडौं। सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली स्थगित गर्न पत्र पठाएको छ।
सरकार र यातायात व्यवसायीबीच सोमबार मध्यराति भएको सहमति कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार गण्डकी प्रदेश सरकारलाई पत्र पठाएको हो । सरकारले पठाएको उक्त पत्र गण्डकी प्रदेश सरकार अन्तर्गत प्रशासन महाशाखामा दर्ता भएको छ।
अर्कोतिर यातायात व्यवसायीहरूले एक प्रेस विज्ञप्ति जारी गरी आफूहरूको आन्दोलन थप सशक्त बनाउने बताएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले मङ्गलबार विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता जारी रहेकोले आफूहरूको आन्दोलन सशक्त रुपमा अघि बढाउन देशभरका यातायात व्यवसायी, स्वरोजगार, मजदुर, कर्मचारीहरूमा आग्रह गरेका हून् ।यद्यपि हड्ताल खुलाउने सन्दर्भमा सार्वजनिक यातायातका साधन ठप्प पारेर भएको हड्ताल हटाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता विमल पोखरेलले हड्तालका नागरिकको आधारभूत र मौलिक हक हनन भएको दाबीसहित तत्काल हड्ताल खुलाउन माग राखी आदेश जारी हुनुपर्ने माग गरेका छन् र हड्ताल गर्नेमाथि कारवाही हुनुपर्ने माग राखेका छन् । सर्वोच्च अदालतले बुधबार नै उक्त निवेदनमाथि प्रराम्भिक सुनुवाइ गर्ने जनाइएको छ ।