न्युज 1नेपाल
जेष्ठ २१ गते, सप्तरी —भारतको पूर्वोत्तर राज्यहरुमा लगातार वर्षाको कारण उत्पन्न बाढी पहिरोमा परेर मृ ४४ जना मानिसको मृत्यू भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गत बिहीबार यताको भारी वर्षापछिको विपद्मा परेर आसाममा १७ जना, अरुणाचल प्रदेशमा १२ जना, मेघालयमा ६ जना, मिजोराममा ५ जना, त्रिपुरामा २ जना र नागाल्याण्ड र मनिपुरमा एक/एक जनाको मृत्यु भएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय समाचारले जनाइएको छ।
यसैगरी सिक्किममा आइतबार साँझ सैनिक क्याम्प नै बगाउँदा तीन सैनिकको कृत्यु भएको थियो भने बेपत्ता भएका अन्य ६ सैनिक अझै फेला नपरेको समाचारले जनाएको छ।
बाढी पहिरोले गर्दा सबैभन्दा बढी आसाममा क्षति पुगेको छ । आसामको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार यहाँका २१ जिल्लाका एक हजार ५ सय ६ गाउँका ६ लाख ३३ हजार भन्दा बढी जनसंख्या प्रभावित छन् ।
१४ हजार ७३९ हेक्टरको खेतीयोग्य जमिनमा क्षति पुगेको छ । सबैभन्दा बढी श्रीभुमी जिल्ला प्रभावित छ र यहाँको २ लाख ३१ हजार ५३६ जनसंख्या प्रभावित भएको डेक्कनहेराल्डले लेखेको छ । बाढी पहिरो प्रभावितहरुमध्ये ३९ हजार ७४६ जनालाई विभिन्न अस्थायी शिविरहरुमा आश्रय दिइएको छ । बेपत्ता भएकाहरुको खोजी भैरहेको बताइएको छ।