काठमाडौं । नेपालमा ब्रेन ट्युमर हुनेको सङ्ख्यामा वृद्धि भइरहेको एक तथ्याङ्कले जनाएको छ।
विश्व ब्रेन ट्युमर दिवसको अवसरमा काठमाडौँको वीर अस्पतालमा आईतवार आयोजित कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक भएको हो।
नेपालमा प्रत्येक वर्ष २५ सय देखि २६ सय ब्रेन ट्युमरका नयाँ बिरामी थपिने गरेका छन् ।
वीर अस्पताल अन्तर्गतको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको नेतृत्वमा नेपालमा ब्रेन ट्युमर बिरामी बारे पहिलोपटक तथ्यांक सार्वजनिक गरिएको छ।
डा.झाका अनुसार पहिलो पटक नेपाल ब्रेन ट्युमरको केस अध्ययन भएर तथ्यांक सार्वजनिक गर्नु एक ऐतिहासिक कदम मानिएको बताए ।
देशभरका २० भन्दा बढी न्यूरोसर्जिकल केन्द्रबाट १ हजार ७३९ ब्रेन ट्युमरका बिरामीको तथ्यांक संकलन र विश्लेषण गरिएको छ । तथ्यांकका आधारमा हरेक वर्ष २५ नेपालमा २५ सय देखि २६ सय नयाँ मस्तिष्क ट्युमरका बिरामी पहिचान हुने निष्कर्ष निकालिएको झा.ले जानकारी दिए ।
डा.झाका अनुसार यो तथ्यांकलाई २ करोड २० लाख जनसंख्याको अनुपातमा विश्वेषण गर्दा करिब १ लाख जनसंख्या बराबर करिब १२ जना ब्रेन ट्युमरका बिरामी रहेको देखाउँछ ।तथ्याङ्क विशलेषण गर्दै प्रा. डा. झाले भने, ‘ ब्रेन ट्युमर सबैभन्दा बढी ४० देखि ५० वर्ष उमेर समूहमा रहेको पाइएको छ । जसमा पुरुष र महिलाको अनुपात लगभग बराबर देखिएको छ । मस्तिष्क ट्युमरका प्रमुख लक्षणहरूमा ५८ प्रतिशत बिरामीमा टाउको दुख्ने, ३६ प्रतिशतमा बान्ता हुने, साथै बेहोस हुने, पक्षाघात र टाउको घुम्ने जस्ता समस्या देखिन्छन् ।’
सबैभन्दा धेरै बिरामी पहिचान बागमती र मधेश प्रदेशमा भएका छन । ट्युमरको प्रकारमा सबै भन्दा धेरै ग्लायोमा ३९ प्रतिशत देखिएको छ । जसमा ५६ प्रतिशत उच्च–ग्रेड ग्लायोमा देखिएको छ । यस अवस्थामा शल्यक्रिया, विकिरण, किमोथेरापी जस्ता बहुआयामिक उपचार आवश्यक पर्छ । यो अवस्थामा उपचारका परिणाम कमजोर हुने अध्ययनले देखाएको छ ।
अध्ययनका क्रममा मेनिन्जियोमा २१ प्रतिशत र पिट्युटरी ट्युमर ८ प्रतिशत देखिएको छ ।
विशेषज्ञ न्यूरोसर्जनहरूको संख्या, न्यूरो केन्द्रहरूको विस्तार र प्रविधिको विकासले उपचार परिणाम सुधारोन्मुख रहेको डा.झाले बताए । ‘यो तथ्याङ्कले मस्तिष्क ट्युमरको रोकथाम र उपचारमा नयाँ दिशा प्रदान गर्ने विश्वास छ’ डा. झाले भने ।
यो तथ्यांक सार्वजनिक हुँदा ब्रेन ट्युमर सम्बन्धी नयाँ अध्ययन, नीति निर्माण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास डा.झाको छ ।
विश्व ब्रेन ट्युमर दिवसका अवसरमा तथ्यांक सार्वजनिक गर्नुका साथै, सचेतनामुलक र्याली आयोजना गरिएको थियो । कार्यक्रममा न्यूरो सेवामा भएको प्रगति विवरण बारे प्रस्तुति र केही सेवा निःशुल्क गरेको जानकारीसमेत गराएको थियो।