न्यूज 1नेपाल
जेष्ठ २५, काठमाडौँ —दक्षिण अमेरिकाको देश कोलम्बियामा राष्ट्रपतिका निर्वाचन परिधिमा राष्ट्रपतिका उम्मेदवार मिगुएल उरिबे टर्बेमाथि गोली प्रहार भएको छ ।
कोलम्बियाको राजधानी बोगोटामा चुनावी कार्यक्रममा सम्बोधन गरिरहेका समयमा ३९ वर्षीय टर्बेमाथि एक यूवकले गोली हानेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार टर्बेलाई ३ वटा गोली हानिएको थियो, त्यसमध्ये २ वटा गोली उनको टाउकोमा लागेको छ । परिवारले आईसीयूमा राखेर टर्बेको उपचार भइरहेको जानकारी दिँदै सबैलाई उनको स्वास्थ्यलाभको प्रार्थना गर्न आग्रह गरेको छ ।
स्थानीय मिडियाहरूले घटनास्थलबाट १५ वर्षीय किशोरलाई पक्राउ गरिएको जनाएका छन् । टर्बेको पार्टी सेन्ट्रो डेमोक्रेटिकोले घटनाको निन्दा गर्दै यो आक्रमण नेता, कोलम्बियाको लोकतन्त्र र स्वतन्त्रताका लागि खतरा भएको बताएको छ ।
त्यस्तै कोलम्बिया सरकारले पनि घटनाको कडा निन्दा गर्दै उक्त आक्रमण केवल एक नेतामाथि मात्र नभई सिंगो लोकतन्त्र माथिकै आक्रमण भएको भनिएको छ । कोलम्बियामा २०२६ को मे महिनामा राष्ट्रपतीय निर्वाचन हुँदैछ । सिनेटरसमेत हरेका टर्बेलाई राष्ट्रपति पदको बलियो प्रतिस्पर्धीका रूपमा जनताले हेरिएको छ ।
पत्रकारसमेत रहेकी उनकी आमा डायना टर्बेलाई सन् १९९० मा लागूऔषध माफिया पाब्लो एस्कोबारको मातहतमा चल्ने एउटा भूमिगत समूहले अपहरण गरेको थियो । सन् १९९१ मा ‘रेस्क्यु अपरेसन’ का क्रममा उनको मृत्यु भएको थियो । कोलम्बिया दशकौंदेखि गृह युद्धको चपेटामा पर्ने आएको छ। त्यहाँ वामपन्थी विद्रोही, दक्षिणपन्थी अर्धसैनिक बलसँग आबद्ध आपराधिक समूह र सरकारबीचको द्वन्द्वमा अल्झिइरहेको छ ।