न्युज 1नेपाल
जेष्ठ २८ गते,काठमाडौँ । काठमाडौँ महानगर पालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले उनीविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग दावी गरिएको छ। उनी हाल सूचना तथा प्रशारण विभागका महानिर्देशक हून्।
महानगरपालिकाका परियार सहित निर्देशक रवीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको हो।
त्यस्तै कल्पवृक्ष-कोहिनूर जेभी र समानान्तर निर्माण सेवा प्रालि.सहितले ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ हानिनोक्सानी समेत गराएकोअख्तियारको दाबी छ। अख्तियारले प्रतिवादीहरूले आफ्नो पदको दुरुपयोग गरी/गराई काठमाडौँ महानगरपालिका/सार्वजनिक संस्थाको सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरे/गराएको तथ्य स्थापित भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।