असार ०९ गते, काठमाडौं । अमेरिकाले इजराइललाई साथ दिँदै इरानका तीन परमाणु केन्द्रमा हमला गरेपछि अमेरिकामा इरानको सत्ता परिवर्तनबारे बहस सुरु भएको छ । इरानको सट्टा परिवर्तनबारे यो बहसको सुरुवात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले गरेका हुन् ।
उनले आइतबार सामाजिक सन्जालमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको सत्ता परिवर्तनबारे लेखेर सार्वजनिक गरेका छन् ।
उनले लेखेका छन्, ‘ शासन सत्ता परिवर्तन भन्नु आजको समयमा राजनीतिक रुपबाट सही मानिँदैन तर यदि मौजुदा इरानी सरकारले इरानलाई फेरि महान बनाउन सक्दैन भने शासन परिवर्तन किन नगर्ने ?’
खामेनी साढे तीन दशकदेखि इरानको सर्वोच्च पदमा आसिन छन् ।
सन् १९७९ मा राजतन्त्रविरोधी इस्लामिक क्रान्तिले राजा साह मोहम्मद रजा पहलवीलाई सत्ताच्यूत गरेको थियो । राजाको शासन ढलेपछिपेरिसमा निर्वासन जीवन बिताइरहेका आयातुल्लाह रुहोल्लाह खामेनी स्वदेश फर्किएर इरानमा इस्लामिक गणतन्त्र स्थापित गरेका थिए । सन् १९८९ मा आयातुल्लाह रुहोल्लाह खामेनीको निधन भएपछि आयातुल्लाह अली खामेनीलाई इरानको सर्वोच्च नेता बन्न गएका थिए ।
अमेरिका र इजरायलले इरानको परमाणु कार्यक्रम रोक्ने उद्देश्यले आक्रमण गरेको भने पनि खास उद्देश्य भने खामेनीलाई सत्ताच्युत गरने उद्देश्य रहेको ट्रम्पले आफ्नो सामाजिक सन्जाल ट्रुथ सोसलमा लेखेका शब्दहरुले पनि यही कुरालाई पुष्टि गरेको छ ।
इजरायल र इरानबीच लडाइँ जारी रहेका बेला अमेरिकाले शनिबार राति इरानका फोर्दो, नतान्ज र एस्फाहन परमाणु केन्द्रमा बम आक्रमण गरेको थियो । ती केन्द्रहरुमा भएको क्षतिको फोटो सार्वजनिक गर्दै अमेरिकाले आक्रमण सफल भएको जनाएको छ ।इरानले भने यसको कडा जवाफ दिने जनाएको छ । ट्रम्पको भनाई अनुसार युद्ध गर्नुको अर्थ इरानमा सत्ता परिवर्तन गर्नु नै हो भन्ने पुष्टि भएको छ।