३१ असार ३१ गते, सप्तरी।
मधेस प्रदेशमा सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने सम्बन्धी बैठक सम्पन्न भएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह,सरोकारवाला मन्त्रालय र दातृ निकायहरु बिच मंगलबार विहान बैठक सम्पन्न भएको हो।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरुसंग आग्रह गर्दै अब उक्त समस्या समाधान गर्न प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने धारणा व्यक्त गरे।
सुख्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताउँदै उनले मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरुवाट गर्न सकिने तात्कालिन र दिर्घकालिन उपायहरु अवलम्बन गर्न आग्रह गरे ।
प्रदेशका नागरिकलाई तत्काल राहत महसुस हुने गरि काम गर्न आग्रह गर्दै उनले भने – वैठक र निर्णय मात्र होइन के गर्न सकिन्छ तुरुन्तै सुरु गरौं ।’
प्रदेशका सबै १ सय ३६ वटै पालिकामा सुख्खा र खानेपानीको समस्या रहेको बताउँदै उनले प्रदेशका नागरिक समस्यामा रहेका वेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गरे ।
‘प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभाववाट संकटमा रहेका वेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरुलाई आग्रह गर्दछु’ – मुख्यमन्त्री सिंहले भने। अहिले सुख्खाका कारण धान रोपाइ हुन नसके यसले आगामी दिनमा खाधान्न संकट सम्भावित खतरालाई ध्यानमा राखी काम अगाडी बढाउन मुख्यमन्त्री सिंहले सरोकारवाला मन्त्रालयलाई निर्देश दिए ।
‘अहिलेवाट नै काम सुरु गरौं, कहाँ समस्या आउछ मलाइ भन्नुहोस तर अव नागरिकलाई यो समस्यावाट निकाल्नु हामी सबै गम्भिरताका साथ लागौं – मुख्यमन्त्री सिंहले भने ।
उनले सुख्खा र खानेपानी समस्याको समाधानका लागि संघीय सरकारसंग आवश्यक छलफल भइरहेको समेत जानकारी गराए।
सुख्खा र खानेपानीको समस्या समाधानका लागि हुने सबै प्रयास र कार्यको दैनिक अपडेट गराउन समेत उनले आग्रह गरे ।
बैठकमा भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री,गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी र उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव लगायतको उपस्थिती रहेको थियो ।
यसैगरी वर्तमान अवस्थावारे मन्त्रालयगत रूपमा तथ्याक प्रस्तुत गरिएको थियो । बैठकमा दातृ निकायका प्रतिनिधीहरुले आवश्यक सहयोग गर्न तयार रहेको समेत जानकारी दिए ।