न्युज 1नेपाल संवाददाता
०४ भदौ, काठमाडौँ ।
काठमाडौंको बबरमहलमा मंगलबार साँझ आयोजित मशाल जुलुसका क्रममा प्रहरीद्वारा पक्राउ गरिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूलाई मध्यराति रिहा गरिएको छ।
नयाँ बानेश्वर प्रहरी वृत्तमा पक्राउ गरी राखिएका १८ जना नेता–कार्यकर्तालाई बिना शर्त छोडिएको जसपाले जनाएको छ।
राजनीतिक षड्यन्त्र गरी प्रतिशोधस्वरूप अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनामा संलग्न भई दोषी ठहर गर्ने प्रयास भइरहेको भन्दै जसपाले विरोधस्वरूप काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेको थियो। सो क्रममा जसपाका प्रवक्ता तथा मधेश प्रदेश सांसद मनिषकुमार सुमन, प्रदेश सांसद किरण साह, लुम्बिनी प्रदेश सांसद अम्बिका दाहाल, केन्द्रीय सदस्य डा. बबी सिंह, रेणुराज सिंह, शशिकपुर मियाँ, दिनेश यादव, युवा नेता मनिष यादव ओम, विद्यार्थी नेता मनिष यादव, बलिराम कापरलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
रिहा भएपनि जसपाले आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ। “सरकारले षड्यन्त्रकारी खेल खेल्ने रवैया परिवर्तन नगरेसम्म आन्दोलन जारी राखिने,” जसपाका नेताहरूले चेतावनी दिए।
सर्वोच्च अदालतले गौर घटनाको छानबिन गर्न परमादेश जारी गरेपछि जसपा आक्रोशित बनेको छ र पार्टीले निरन्तर प्रदर्शनलाई अघि बढाइरहेको छ।