भुपदेव माली/ भारदह
नेपाल पत्रकार महासंघले पछिल्लो समयमा महासंघका विभिन्न तहका संरचनामा आस्थाका आधारमा सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने कार्य भइरहेकाले त्यस्तो विभेदप्रति प्रेस जनमत संघले आपत्ती जनाएको छ । संघका केन्द्रीय अध्यक्ष अवधेश कुमार झाले आइतबार प्रेस बिज्ञप्ती जारी गर्दै यस्ताे आपत्ती जनाएकाे हाे ।
नेतृत्वसँग आस्था राख्ने सदस्यहरूको सदस्यता सहज रूपमा नवीकरण हुने तर फरक आस्था राख्ने पत्रकारहरूको सदस्यता नवीकरण नगर्ने वा नयाँ सदस्यता नै अस्वीकृत गर्ने प्रवृत्ति महासंघको साझा भावना विपरीत रहेकाे बिज्ञप्तीमा उल्लेख छ ।
यस्तै महासंघको सदस्यतामा शुद्धिकरणको आवश्यकता छ र हामी पक्षपाति छौं बिज्ञप्तीमा भनिएकाे छ, शुद्धिकरणको नाममा महासंघका स्थानीयदेखि केन्द्रीय तहसम्मको नेतृत्वले व्यक्तिगत रिसइवी साध्ने कार्य गरेको तथ्य लुकेको छैन। काठमाण्डौका लागि एक किसिमको मापदण्ड र तराई–मधेशका जिल्लाहरूमा मनपरी मापदण्ड लागू गरी सदस्यता खारेज गरिनु अन्यायपूर्ण भएको हाम्रो ठहर भएकाे भनी बिज्ञप्तीमा खुलाएका छ ।
साथै गत निर्वाचनको समयमा शुद्धिकरणका नाममा भएको अन्यायलाई तत्काल सच्चाउन संघले जोडदार माँग गर्दै नेपाल पत्रकार महासंघलाई साँच्चिकै सबै पत्रकारहरूको साझा संगठनका रूपमा कायम राखी, फरक आस्थाका पत्रकारहरूलाई पनि समान अवसर र अधिकार सुनिश्चित गर्न आवश्यक कदम चाल्न बिज्ञप्ती मार्फत अनुरोध गरेकाे छ ।
साथै सदस्यतामा भइरहेको विभेदलाई तत्काल अन्त्य गर्दै महासंघबाट प्रदान हुने अवसरहरूमा सबै पत्रकारहरूले अपनत्वको अनुभव गर्ने वातावरण निर्माण होस् भन्ने अपेक्षा राखेकाे उल्लेख छ ।
प्रेस जनमत संघ महासंघको साझा चरित्रको पक्षपाती रहेकाे उल्लेख गर्दै यसलाई हृदयगम गर्दै महासंघ नेतृत्वले पनि आफ्नो साझा चरित्रको अवधारणालाई खुला मनले आत्मसात् गर्ने संघले विश्वास व्यक्त गरेका छन् ।
महासंघले आफ्नो साझा चरित्रलाई कायम राखी, निष्ठापूर्वक सबै पत्रकारहरूको हक–अधिकार र हितका लागि निष्पक्ष रूपमा क्रियाशील रहनुपर्ने संघले अपेक्षा गरेकाे छ ।