भूपदेव माली
भदौ ०८ गते, सप्तरी। भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको भन्दै जनता समाजवादी पार्टी नेपालले भदौ ९ गतेदेखि देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ।
जसपा नेपाल केन्द्रीय कमिटीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ ९ गतेदेखि देशभरि नै विरोध प्रदर्शन गर्ने जनाएको हो ।
जसपाको केन्द्रीय कमिटी बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने “भूमि र वन बचाउं, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउँ”अभियान अन्तर्गत भूमि विधेयक विरुद्ध कडा प्रतिकार गर्ने र सोको विरोध गर्ने निर्णय बमजिम सो विधेयक विरुद्ध प्रदर्शन गर्ने भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भूमिसम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू-माफिया, जग्गा दलालको हित हुने र त्यसबाट वनजङ्गल विनाश भई तराई मधेस मरुभूमिकरण हुनेगरी सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकको जसपा नेपालले निरन्तर विरोध गरीरहँदा पनि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते सरकारले राष्ट्रिय हित विपरित कार्य गर्ने जस्ता विवाद उत्पन्न गरेको ठहर गरिएको छ।