भूपदेव माली
भदौ ११ ,भारदह। भूमि विधेयक फिर्ता गर भन्दै जनता समाजवादी पार्टी नेपालले सप्तरीको भारदह बजारमा विरोध प्रदर्शन गरेका छन्।
उपनिवेशिक शासनको- अन्त्य गर! मधेसी थारु – एक हौँ! पहिचान विरोधी ओली सरकार- मुर्दाबाद! मधेसीलाई मधेसमै अल्पसंख्यक बनाउन – पाइँदैन! भूमि विधेयक – फिर्ता गर! उपेन्द्र यादव- जिन्दाबाद! जसपा नेपाल – जिन्दाबाद! आदि नारा लगाउँदै जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादवको नेतृत्वमा लगभग २०० जनाको सङ्ख्यामा निस्किएको जुलुस भारदह बजार परिक्रमा गर्दै सहिद राजिव चौकमा विरोध सभा गरिएका हुन्।
निलेश झाले कार्यक्रम सञ्चालन गरिएको सभामा जसपाका सप्तकोशी नगरपालिकाका नगर अध्यक्ष हरेराम यादव, जसपाका कञ्चनपुर नगर अध्यक्ष कल्पना चौधरी, संघीय निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष हेमन्त बहरखेर (मनोज), अग्नि सायर कृष्णा सवरण गाउँपालिकाका अध्यक्ष मिलन चौधरी, प्रदेश कमिटीका सल्लाहकार परशुराम यादव, जसपा नेपालका केन्द्रीय सचिव शम्भु झा ,हनुमाननगर कंकालिनी नपा वडा नं १ भारदहका जसपा अध्यक्ष गजेन्द्र माझी लगायतकाले मन्तव्य राखेका थिए।
कार्यक्रममा जसपाका नेता शम्भु झाले-‘ जसपाको केन्द्रीय कमिटी बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने “भूमि र वन बचाउं, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउँ”अभियान अन्तर्गत भूमि विधेयक विरुद्ध कडा प्रतिकार गर्ने र सोको विरोध गर्ने निर्णय बमजिम सो विधेयक विरुद्ध जसपा नेपालले सडक आन्दोलनमा उत्रेको बताउनुभयो। उनले सरकारले जनघाती भूमिसम्बन्धी विधेयक फिर्ता नगरुन्जेलसम्म हामी आन्दोलन जारी राख्ने बताउनुभयो।नेता झाले गौर घटनाको जिकिर गर्दै- ‘गौर घटनाको मुख्य योजनाकार तत्कालीन माओवादीका नेता प्रभु शाह रहेको’ भन्दै , गौर स्थित राइस मिलको मैदानमा तत्कालीन मधेसी जनाधिकार फोरम नेपालको जनसभा १५ दिन आगामी निर्धारित भएपश्चात् मधेसीको जनसभा विथल्ने उद्देश्यले केही दिनपछि तत्कालीन नेकपा माओवादीका नेता प्रभु साहले आफ्नो पार्टीको जनसभा पनि सोही स्थानमा आयोजन गरी त्रिशुलीबाट छापामार शैन्यहरूलाई ल्याएर मधेसीले निर्माण गरिएको मञ्चलाई तोडफोड गरी मधेसी जनतामाथि आक्रमण गर्न लगाएकोले प्रतिवादको रूपमा उक्त घटना सिर्जित भएको बताउनुभयो।
यस्तै कार्यक्रमलाई समापन गर्दै अध्यक्ष केदार यादवले-‘जसपा नेपालले नेपाल सरकारले ल्याएको जनघाती भूमिसम्बन्धी विधेयकको विरोध गर्दै सरकारबाट समर्थन फिर्ता लिएपछि राजनीतिक हस्तक्षेप गर्ने मनसायले केपी शर्मा ओलीले गौर घटना काण्डमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सर्वोच्च अदालतद्वारा परमादेश जारी गर्न लगाएको’ बताउनुभयो।