न्युज 1नेपाल संवाददाता
१४ भदौ, सप्तरी ।
सप्तरीको राजगढ गाउँपालिका वडा नं २ स्थित श्री खुजश आधारभूत विद्यालय कमलपुरमा शिक्षक नियुक्तिको विवाद उत्कर्षमा पुगेको छ । अवैधानिक प्रक्रियाबाट शिक्षक नियुक्ति गर्न सहमति दिन दवाव सिर्जना गर्ने पक्ष र विद्यालय प्रशासन वीच शिक्षक नियुक्तिको विषयमा विवाद उत्कर्षमा पुगेको हो।
विद्यालयका प्रधानाध्यापक रविन्द्र यादवको अनुसार ‘कानून विपरीत शिक्षक नियुक्त गर्न दवाव दिदै विद्यालय आएका समुहले कार्यालयमा शुक्रबार बलपूर्वक तालाबन्दी गरेको छ’।
नेपाली विषयकी शिक्षिका टुनामाया मगरको सुरुङ्गा नगरपालिका सरुवा भएपछि सर्लाही जिल्लामा कार्यरत स्थानीय गणित शिक्षक विरेन्द्र यादवलाई हाजिर गराउन दवाव दिदै आएका चन्दन गुप्तालगायतका पाँच जनाको उछृखल समूहले विद्यालय संचालनकै क्रममा कार्यालय शुक्रबार तालाबन्दी गरेको उनले बताए ।
‘नेपाली शिक्षकको दरबन्दीमा गणित शिक्षकलाई नियुक्त कसरी गर्नुमिल्छ, यो कानून विपरीत कार्य हो’ प्रधानाध्यापक यादवले भने,’गाउँपालिकाले समेत कानून बमोजिम गर्नुपनी निर्देशनसहितको पत्र पठाएको छ, उनले थपे : मन्त्री, प्रधानमन्त्रीले समेत गर्न नस्सक्ने नियुक्त मैले गर्नु मिल्छ ? यो जबर्जस्तीको चरम पराकाष्ठा हो ।’
जुन विषयको खाली भएको हो सोही विषयका शिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाउँदा केही उछृखल समुहले अबरोध गरेको प्रधानाध्यापक यादवको भनाइ छ ।
तालाबन्दीको विषयमा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी र प्रहरी चौकीमा मौखिक जानकारी तथा लिखित उजुरी दिदा समेत सुनुवाइ नभएको उनले गुनासो गरे ।