भूपदेव माली
१८ भदौ, सप्तरी। तराई मिथिलामा आज राति धर्माकर्मा पर्व मनाउने गरेका छन्।
धानुक मण्डल, खत्वे मण्डल आदि जातिले भाइबहिनीको प्रेमप्रतिक मनाउने धर्माकर्मा पर्व खासगरी धानुक जातिले बसोबास गर्ने बस्तीहरुमा मनाउने गरेका हुन्।
सप्तरीको हनुमाननगर कंकालिनी नपाको अन्डीपट्टि,योगिनिया, इनर्वा, महदेवा गाउँपालिकाका मनसापुर, भगवतपुर, एकवरपुर आदि बस्तीहरूमा आज राति यो पर्व धुमधामसँग मनाउने तयारी रहेको छ।
यसपर्वकाे खासै विशेषता भनेको रातिको चारपहरमा विधिपूर्वक चार पटक १४ वर्ष मुनिका भाइले आफ्नो बहिनीलाई पोखरीमा राखेको डुङ्गा (नाउ)मा चढाएर पारी लग्ने र बिहान उक्त पोखरी तथा पूजा सामग्रीलाई नजिकको पोखरी,नदी वा तालमा सेलाएर पर्वलाई समापन गर्ने परम्परा रहेको छ। धर्माकर्मा पर्व सामूहिक पर्व भएकोले गाउँ टोल मा एउटा सानो पोखरी खनेर सो पोखरीको चारैतिर बाँसगाडी कमलको फूलले सुसज्जित पारिएर पोखरीमा रहेको डुगांमा चढेर गाउँ टोलको बालबालिकाहरुले वारीपारी तर्ने विधि अनुरूप रातभरि जाग्राम भई उल्लासपूर्ण वातावरणमा मनाउने चलन प्राचीनदेखि नै चल्दै आएको छ।