आज संविधान दिवस हो। संविधान बनेको दशकौं बितिसक्यो। तर संविधानका मर्म नेपाली जनताले बुझ्न सकेको छैन। संविधान देशको मूल कानुनको दस्तावेज हो।
नेपालको संविधान नेपाली जनताले पटकपटक क्रान्ति र संघर्ष गर्दै अन्तत लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने असंख्य सहिदहरूको समर्पण र बलिदान बाट उत्पन्न एक दस्तावेज हो। यो संविधान असोज ३ गते २०७२ मा जनताद्वारा अर्थात् संविधानसभा द्वारा तयार पारिएको संविधान हो। यस संविधानमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्यको साथ र संयुक्त राष्ट्रसङ्घको नीति निर्देशन अवलम्बन गर्दै तयार गरिएको थियो। तर दुर्भाग्य संविधानद्वारा प्रत्याभूत गरेका राजबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच हुन सकेन। स्थानीय तहबाट पनि विभेद रह्यो। पालिकाका अध्यक्ष ,मेयर एवं वडा अध्यक्ष समेतले निरी अल्पसंख्यक जातिका जनतासँग विभेद गर्दै गरे। आफ्ना जाति कुटुम एवं भाइ भारदारहरूको पक्षमा उभिएर समाज वा सो ठाउँका अल्पसंख्यक जातिका मानिसहरूसँग विभेद अन्याय गर्दै उनलाई आफ्नो हकबाट वञ्चित गर्ने कार्यहरू गर्दै गरे। अर्कोतिर प्रदेशमा पनि विभिन्न राजनीतिक दलका नेताहरूले समानुपातिकका नाममा पनि आफ्नै मान्छेहरूलाई नियुक्त गर्दै गरे। विभिन्न राजनीतिक दलका नेताहरूका यस्ता कुकृत्यहरूको कारण आज जनताले सिंगो संविधानमाथि प्रश्न उठाइरहेका छन्, युवा पुस्ताले संविधान संशोधनका कुराहरु उठाइरहेका छन् ।जेन जी आन्दोलनको परिस्थिति उत्पन्न भयो।
अतः देश हाँक्ने नेताहरूले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्दै मन, वचन र कर्मले समर्पित भई कार्य संपादन गर्नु आवश्यक छ।इमान्दार हुनु आवश्यक छ।