• img
  • img
img img img
Categories
विचार समाचार

सम्पादकीय

img

आज तराई मधेसमा बिहानैदेखि हुस्सु कुहिरो बढ्दै गएकोले जाडो पनि बढेको अवस्था छ। हुन त पश्चिमी वायुको प्रभावले अहिले देशभर आंशिक रुपमा बादल लागेको संगै हुस्सु र जाडो बढेको हो । यद्यपि काठमाडौं उपत्यका लगायतका जिल्लामा मधुरो घाम लागेको छ । यस्तो अवस्था अझै केही दिनसम्म जारी रहने र जाडो बढेको महसुस हुने मौसमविदको पूर्वानुमान छ । साथै तराई मधेशका जिल्लामा अझै केही दिन हुस्सु-कुहिरोले दु:ख दिने अवस्था छ ।
अहिले देशभरि नै बादल लागे पनि तत्काल वर्षा हुने सम्भावना भने देखिएको छैन । यो खासगरी पश्चिमी वायुको प्रभाव हो ।

बादल लाग्ने क्रम हिजो साँझदेखि नै सुरु भएको हो । आज दिनभरि र भोलि पनि मौसम यस्तै रहने देखिन्छ । पर्सि साँझदेखि भने बादल बिस्तारै कम हुँदै जाने सम्भावना रहेको मौसमविदहरूको भनाइ छ।

पश्चिमी वायुका कारण घाम नलागेपछि यसले अधिकतम तापक्रममा केही गिरावट ल्याउनेछ, जसले गर्दा दिउँसो केही चिसो महसुस गराउन सक्छ । न्यूनतम तापक्रममा भने खासै ठूलो परिवर्तन हुने देखिँदैन । यद्यपि, दिउँसो घाम नलाग्दा जाडोको महसुस भने बढी नै हुन्छ ।

आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस रहेको मौसम विभागले जनाएको छ । यो अझै केही घट्न सक्छ । हिजोको अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस मापन गरिएको थियो।

अहिलेको औसत तापक्रमसँग तुलना गर्ने हो भने, हिजोको अधिकतम तापक्रम औसत (१९.९ डिग्री) भन्दा कम हो । अर्थात्, औसतभन्दा केही बढी चिसो महसुस भइरहेको छ।
तराईमा अहिले कुहिरो र हुस्सु लाग्ने क्रम जारी छ । धनगढी, नेपालगन्ज, भैरहवा, जनकपुर, राजबिराज ,सिमरादेखि विराटनगर र चन्द्रगढीसम्म नै बाक्लो कुहिरो लागेको छ । थोरै मधुरो प्रकाश देखिए पनि आकाश पूर्ण रूपमा खुल्ने स्थिति छैन । यसले गर्दा तराईको तापक्रम पनि घट्दो क्रममा छ र जाडो बढेको छ ।

यो समयमा तराई जस्तो होचो भू–भागमा यस्तो मौसमी प्रणाली देखिनु स्वाभाविक प्रक्रिया हो । छिमेकी भारतका भूभागमा पनि यस्तै अवस्था छ । यो स्थानीय भौगोलिक र मौसमी कारणले नै विकास भएको मान्न सकिन्छ।त्यसैले जाडोको बेला बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरुले विशेष सावधानी अपनाउनुपर्छ ।सँगै विपन्न तथा दलित वृद्ध वृद्धा शिशु एवं रोगीहरूका लागि न्यानोको व्यवस्था गर्नेतर्फ स्थानीय सरकारले ध्यान दिनु आवश्यक छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी