कञ्चनरूप
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साह (बालेन) ले सप्तरी भ्रमणका क्रममा देखाएको व्यवहारप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा नागरिक समाजका व्यक्तिहरूले खेद प्रकट गरेका छन्।
मंगलबार बिहान उदयपुर हुँदै फत्तेपुर नाकाबाट सप्तरी प्रवेश गरेका साह कञ्चनपुर र हनुमाननगर हुँदै जिल्लाको सदरमुकाम राजविराज पुगेका थिए। राजविराजस्थित मधेश आन्दोलनका अग्रणी नेता स्वर्गीय गजेन्द्र नारायण सिंहको शालिकमा साहले गाडीबाटै माला फालेको घटनालाई लिएर स्थानीयस्तरमा व्यापक असन्तुष्टि देखिएको हो।
स्थानीय नेताहरू र नागरिक समाजका प्रतिनिधिहरूले उक्त कार्यलाई स्वर्गीय गजेन्द्र नारायण सिंहको अपमान मात्र नभई सिंगो मधेश र मधेशी स्वाभिमानमाथिको प्रहार भएको टिप्पणी गरेका छन्। “मधेशका अधिकार र संघीयताको आधारशिला राख्ने महान व्यक्तित्वप्रति श्रद्धा व्यक्त गर्दा नेताहरूले गाडीबाट ओर्लिएर माल्यार्पण गर्ने परम्परा रहँदै आएको छ,” उनीहरूको भनाइ छ।
साहले दाैडिरहेको गाडीबाट हात हल्लाउँदै र घण्टी बजाउँदै यात्रा जारी राख्दा स्वागतका लागि बिहानैदेखि माला र फूल लिएर बसेका समर्थकहरूलाई समेत भेट नगरेको स्थानीयहरूको गुनासो छ। यसले समर्थकहरू निराश भएको उनीहरूले बताएका छन्।
सामाजिक सञ्जालमा पनि घटनाप्रति तीव्र प्रतिक्रिया देखिएको छ। “सनरुफ राजनीतिले भीड त बनाउँछ, तर जनताको मन जित्दैन। घण्टी बजाएर भरोसा जितिँदैन र माला फ्याँकेर सम्मान हुँदैन,” भन्ने टिप्पणीहरू व्यापक रूपमा फैलिएका छन्।
यसैबीच, जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा मधेश प्रदेशका पूर्वमन्त्री सैलेन्द्र प्रसाद साहले बालेन साहको व्यवहारलाई अहंकारको पराकाष्ठा भन्दै आलोचना गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लगाउँदै, “भ्रष्टाचार र ठगीका आरोप लागेका व्यक्तिहरूले सुशासन र परिवर्तनको कुरा गर्नु हास्यास्पद छ,” भन्ने प्रतिक्रिया दिएका छन्।
घटनाले सप्तरीमा राजनीतिक वातावरण तताएको छ भने बालेन साहको अभियान शैलीमाथि गम्भीर प्रश्नहरू उठ्न थालेका छन्।