• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

तीन पुस्तादेखि बसोबास, तर अधिकारविहीन: औरही र नयाँबस्ती मुसहरीका दलितहरूको आक्रोश

img

न्यूज1नेपाल सम्वाददाता

सप्तरी ३ डाक्नेश्वरी नगरपालिका–६ स्थित औरही बस्तीका सुकुम्बासी दलित समुदायले निर्वाचनका बेला नेताहरूले गर्ने प्रतिबद्धता व्यवहारमा नदेखिएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। “जुन जोगी आयो कानै चिरेको” भन्ने उखान उद्धृत गर्दै स्थानीय राजकुमार रामले चुनावताका मीठा आश्वासन बाँड्ने तर जितेपछि फर्केर नआउने प्रवृत्तिको आलोचना गरे।

स्थानीयका अनुसार यस क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका चन्द्रकान्त चौधरी र नेपाली कांग्रेसका दिनेश यादव निर्वाचित भएपनि सदा र मुसहर समुदायको जीवनस्तरमा सुधार आउने कुनै कार्यक्रम तथा याेजना देखिएन। तीन पुस्तादेखि बसोबास गर्दै आएपनि उनीहरूले जग्गाधनी पुर्जा नपाएको गुनासो गरे। वडाले पुर्जा नहुँदा सरकारी बजेटबाट काम गर्न नसकिने भन्दै बेवास्ता गरेको परमेश्वरी सदाले बताइन्।
७० घरधुरी रहेको बस्तीमा शौचालय, स्वच्छ खानेपानी र सरसफाइजस्ता आधारभूत सुविधा अभावमा छन्। दलित लक्षित कार्यक्रमबाट सहयोग आएको भनिए पनि मुसहर–सदा समुदायसम्म प्रभावकारी रूपमा नपुगेको बालक दासको भनाइ छ।
उक्त वडाकै नयाँबस्ती मुसहरीमा पनि उस्तै समस्या छ। औरहीबाट विस्थापित २५ घरपरिवार एलानी जग्गामा बसोबास गरिरहेका छन्। स्थानीयका अनुसार जनमत पार्टीले सुरु गरेको जनता आवास कार्यक्रम अधुरै छोडिएको छ। चार वटा भवन डिपिसीमै सीमित छन् भने दिनाभद्री मन्दिर पनि पिलरमै रोकिएको आरोप छ।
यद्यपि नेकपा एमालेका ताराकान्त चौधरीले गाउँसम्म ग्राभेल सडक निर्माण गरिदिएपछि आवतजावत सहज भएको स्थानीयको भनाइ छ। यसपटक भने आश्वासनभन्दा काम गर्ने पक्षलाई मात्र मत दिने चेतावनी समुदायले दिएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी