न्यूज1नेपाल सम्वाददाता
सप्तरी- कञ्चनरूप
सप्तरीको कञ्चनरूप नगरपालिकामा राष्ट्रिय युवा संघ र नेशनल भोलिन्टियर फोर्सले संयुक्त रूपमा विरोध कार्यक्रम आयोजना गरेका छन्। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को झण्डा जलाइएको तथा पार्टी नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको घटनाको विरोधमा उनीहरूले मोटरसाइकल र्याली निकालेका हुन्।
शुक्रबार आयोजित उक्त कार्यक्रममा सयौंको संख्यामा सहभागीहरू मोटरसाइकलसहित रूपनगर चोकबाट निस्किएका थिए। राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य एवं मधेश प्रदेश इन्चार्ज मनीष श्रेष्ठको नेतृत्वमा निकालिएको र्यालीले नगर परिक्रमा गरी कञ्चनपुर बजारमा पुगेर कोणसभा गरेको थियो।
कोणसभालाई सम्बोधन गर्दै श्रेष्ठले राजनीतिक असहमति विचार र बहसका माध्यमबाट व्यक्त गर्नुपर्ने बताए। उनले आगजनी, उत्तेजना र द्वेष फैलाउने गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गर्ने धारणा राखे। झण्डा जलाउनेजस्ता कार्यले राजनीतिक स्थायित्व मात्र नभई सामाजिक सद्भावसमेत खल्बल्याउने खतरा उत्पन्न गर्ने उनको भनाइ थियो।
श्रेष्ठले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न राज्य पक्षसँग माग गरे। यस्ता अराजक गतिविधि दोहोरिन नदिन सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनले जोड दिए। विद्रोही प्रवृत्तिका समूहलाई समयमै नियन्त्रणमा नलिए आगामी निर्वाचन प्रभावित हुन सक्ने चेतावनीसमेत उनले दिए।
उनले सबै राजनीतिक दललाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा चुनावी प्रचार–प्रसार गर्ने वातावरण निर्माण गर्न आग्रह गर्दै पुनः यस्ता गतिविधि दोहोरिए युवासंघ चुप लागेर नबस्ने स्पष्ट पारे। कार्यक्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरेका थिए।