कञ्चनरूप
सप्तरीको कञ्चनरूप नगरपालिका–१ बैरवामा १ सय ८६ जना विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन्। आइतबार आयोजित औपचारिक भेला कार्यक्रममा उनीहरूलाई पार्टीमा स्वागत गरिएको हो।
नेपाली कांग्रेस, जनमत पार्टी लगायत विभिन्न राजनीतिक दल परित्याग गरी तमिज शेखको नेतृत्वमा उनीहरू एमालेमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई एमाले नेता सुमनराज प्याकुरेलले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरी, जिल्ला कमिटी सदस्य हरिहर बस्नेत, जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं. १ का संयोजक राजकुमार साह, नेता शिव नारायण साह र विष्णु थापा मगर लगायतका नेताहरूले मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले पार्टी सुदृढीकरण, संगठन विस्तार र आगामी निर्वाचनमा एमालेको भूमिका सशक्त बनाउन नवप्रवेशीहरूको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
नवप्रवेशीहरूले एमालेको नीति, सिद्धान्त र नेतृत्वप्रति आकर्षित भएर पार्टी रोजेको बताएका छन्। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।